नेपाली पैसा
काठमाडौं : द हूरुनले भारतमा सन् २०१९ को अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । अर्बपतिको यस सूचीमा सेयर बजारका लगानीकर्ता राकेश झुनझुनवाला, हर्मेन्द्र कोथारी र नितिन कामथा लगायतका व्यक्तिहरु पनि परेका छन् । डी–मार्टका सञ्चालक तथा सेयर लगानीकर्ता राधाकिसान धामिनी ४३ हजार २०० करोड भारु सम्पतिका साथ भारतकै धनाढ्यमा १४ औं नम्बरमा पर्न सफल भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आइआइएफएल वेल्थ हूरुनका अनुसार झुनझुनवालासँग १० हजार ९०० करोड (भारु) सम्पत्ति रहेको छ । कामनाथको ६ हजार ६०० करोड सम्पत्ति छ भने हर्मेन्द्र कोथारीको लगभग ४ हजार ८०० करोड सम्पत्ति रहेको रिपोर्टमा उल्लेख छ । यसैबीच, भारतका शीर्ष अर्बपतिहरुले यस वर्ष मुलुकको कमजोर अर्थव्यवस्थाका बाबजुत पनि लगानी बढाउन सफल भएका छन् । लगानी अनुसार उनीहरुको सम्पति पनि वृद्धि भएको देखिएको छ । भारतीय सेयर बजारमा चमक आउँदा पनि उनीहरुको सम्पतिमा सुधार आएको अनुमान छ ।
यस्तै, मुकेश अम्बानी ३ लाख ८० हजार ७०० करोड सम्पतिका साथ भारतका सबैभन्दा धनी व्यक्तिका रुपमा सूचीकृत भएका छन् । यद्दपि, अम्बानीले यस वर्ष ३% ले मात्र सम्पति बढाउन सकेका छन् । एस हिदुजा एन्ड फ्यामेलीले पनि १७% ले सम्पति वृद्धि गर्दै १ लाख ८६ हजार ५०० करोड सम्पति पुर्याएको छ । उनी तथा परिवारले हिदुजा कम्पनी सञ्चालन गर्छन् ।
(भारतीय सञ्चार माध्यमहरुको सहयोगमा)