Market Closed

नेप्सेले काट्यो १३०० को खड्को, बजार बुलिस हुँदा १ अर्ब ७० करोडको कारोबार

16 Jan,2020
  • bullmarket_1_16_2020_3_19_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा उत्साहमय वातावरण सिर्जना हुन थालेको छ । आम लगानीकर्ताले अपेक्षा गरेभन्दा पनि बढी र छिटो सेयर बजारले फड्को मार्न थालेको छ । दोहोरो अंकले बढिरहेको नेप्सेलाई उत्साहजनक कारोबार रकमले झनै साथ दिन थालेको छ । करिब ४२ महिनादेखि बजार घट्दा आम लगानीकर्ताको मनोभावना नै नकारात्मक बनेको थियो । यसबीचमा सरकारका नीतिनियम र अर्थमन्त्रीको वाणीलाई पनि सेयर बजार घटाउने कारक मानिएको थियो ।

तर समयक्रमसँगै अर्थमन्त्री पनि सेयर बजारप्रति निकै नरम देखिन थालेका छन् । सेयर बजार सुधार्न प्रमुख र अप्रत्यक्ष विधिबाट केन्द्रीय बैंकले नयाँ निर्देशन जारी गर्यो । गाडी कर्जामा कडाई गर्दा त्यो पैसा स्वतः सेयर बजारमा आउने वातावरण बनेको हो । यही सकारात्मक वातावरणलाई फेरि बैंकमा रहेको अधिक तरलताले पनि साथ दिएको छ । तरलता बढ्दै जाँदा बैंकहरुले ब्याजदर घटाउने प्रस्ताव गर्न थालेका छन् ।

अधिकांश बैंकहरुले ऋण नवीकरण गर्दा गत वर्षको भन्दा ब्याजदर घटाइदिएका छन् । उनीहरुले कर्जा लिनका लागि नयाँ ग्राहक खोज्न थालेका छन् । सेयर धितो कर्जा प्रवाह गर्न पनि बैंकहरु थप उत्सुक भएका छन् । सेयर धितोमा ६५% सम्म कर्जा पाइने भएकाले पनि लगानीकर्तालाई थप सहज हुँदैछ । 
 
लगातार घटेको बजारमा सेयर भाउ निकै सस्तो हुनु, सूचीकृत कम्पनीहरुको लाभांश दर वृद्धि, नगद र बोनस मिलाएर सन्तुलित हिसाबले लाभांश वितरण गरिनु लगायतका कारणले पनि आम लगानीकर्ता सेयर बजारप्रति थप सकारात्मक बनेका हुन् । माघ महिना लागेसँगै दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुन थालिसकेको छ । अधिकांश कम्पनीले औसतमा नाफा वृद्धि गरेको अनुमानहरु भइरहेका छन् ।

यसले  पनि सेयर बजारमा उत्साह थपिएको हो । तथापि, बजार निरन्तर बढ्ने मात्र गर्दैन । घटबढ बजारको सामान्य नियम हो । यसर्थ, आम लगानीकर्ताले जहिले पनि सम्बद्ध कम्पनीको सुक्ष्म अध्ययन गरेर मात्र सेयर बजारमा लगानी गर्नुपर्छ । जोखिम बहन गर्ने क्षमतालाई पनि ख्याल गर्नु आवश्यक छ । तर दीर्घकालीन हिसाबले भने सेयर बजारको भविष्य उज्ज्वल रहेको विश्लेषकहरु बताउँछन् । 
 
नेप्से सूचक २६ अंकले बढेर १३१० विन्दुमा आइपुगेको छ । १८१ कम्पनीको १ अर्ब ६९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५० लाख २५ हजार ५६३ कित्ता सेयर खरिदबिक्री भएका छन् । अन्य बाहेक कारोबार भएका सबै समूहका सूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बिमा समूहको सूचक २४२.५८ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि १९.३८ अंकले माथि लागेको छ । 
 
खरिदबिक्रीमा हिमालयन डिष्टिलरी सबैभन्दा अघि छ । यसको पछिपछि शिवम् सिमेन्टस दौडिएको छ । हिमालयन डिष्टिलरीको १४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार हुँदा शिवमको १३ करोड ५९ लाख रुपैयाँभन्दा धेरैको खरिदबिक्री भएको छ । यस्तै, एनआइसी एसिया र प्रभु बैंक त्यसपछि क्रमशः कारोबार रकममा अघि रहेका छन् । १ दर्जनभन्दा बढी कम्पनीको १०% ले भाउ बढेर सर्किट ब्रेकर लागेको छ । 


Post Your Comment