Market Closed

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई सफाई, आरोप प्रमाणित हुन सकेन

16 Jan,2020
  • shiva-raj-shrestha_1_16_2020_4_02_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कारवाही गर्नबाट रोकेको छ । निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाइएको लामो समयपछि सरकारले श्रेष्ठलाई सफाई दिएको हो । छानबिनका क्रममा श्रेष्ठ दोषी भएको प्रमाण फेला नपरेपछि कारवाही गर्नबाट सरकार पछि हटेको हो । यससँगै उनको निलम्बन पनि फुकुवा भएको छ । सरकारको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले यस्तो जानकारी दिएका हुन् । अब उनी नियमित काममा फर्किने छन् । 
 
बास्कोटाले श्रेष्ठमाथि आरोप लागेकाले छानबिन भएको र छानबिनको क्रममा त्यस्तो केही नभेटिएकाले सफाइ दिएको जनाकारी दिए । उनले भने, ‘छानबिनको क्रममा आरोप पुष्टि नभएपछि सफाइ दिइएको हो ।’श्रेष्ठमाथि लाभांश लैजाने प्रक्रिया, सर्वोच्चमा परेको मुद्दामा निजी टेलिकम कम्पनी एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइ नपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको लगायत आरोप लगाइएको थियो ।

साथै, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सघाएको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागू गर्न असहयोग गरेको लगायत आरोप पनि उनीमाथि थिए । उक्त आरोपका सम्बन्धमा छानबिन गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिले तीन सदस्यीय समिति गठन गरेको थियो ।

बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरू रामजी रेग्मी र सुबोधकुमार कर्ण सदस्य रहने गरी छानबिन समिति बनाएको थियो । समितिको अध्ययन प्रतिवेदन अनुसार उनलाई लागेको आरोप पुष्टि हुन नसकेपछि सफाइ दिएको बास्कोटाले बताए । उनलाई कारवाही गर्ने फाइल अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री समक्ष पेश गरेका थिए । प्रधानमन्त्री केपी ओलीले नै उनी निर्दोष रहेको भन्दै कारवाही गर्न नचाहेका हुन् । निलम्बनमा परेपछि श्रेष्ठले न्यायका लागि आफू अदालत जाने बताएका थिए । 

Post Your Comment