Market Closed

रसुवा भन्सारमा ६ महिनामा ७ अर्ब राजस्व संकलन

17 Jan,2020
  • rasuwa-vansar_1_17_2020_1_44_46.jpeg
 
 
रसुवा : चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ६ महिनामा रसुवा भन्सार कार्यालयबाट ७ अर्ब ३३ करोड राजश्व संकलन भएको छ । यहाँबाट दैनिक सरदर ३ करोड राजश्व संकलन हुने गर्छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार गत आवको सुरुको ६ महिनामा भने ५ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

उत्तरी नाका रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, कम्बल, विद्युत् निर्माणका सामग्री, कपडा, खेलौना, तयारी पोशाक, जिम्बू लगायतका सामग्री आयात हुने गरेको छ । यी सामग्रीको मूल्यांकनबाट उक्त राजस्व संकलन भएको हो ।
 
छिटोछरितो सामान परीक्षण गर्न ३० जाँचकी परिचालन गरिएको बताउँदै प्रमुख भन्सार अधिकृत खड्काले राजस्व चुहावट रोक्ने कार्यमा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा २१ नम्बर गुल्मले राम्रो काम गरिरहेको जानकारी दिए ।

चीनको केरूङबाट सामान लिई भन्सार हातामा प्रवेश गर्ने मालबाहक ट्रक कन्टेनरको छिटोछरितो परीक्षण भइरहेकोले दैनिक रूपमा ५०–६० ट्रक कन्टेनरको जाँचपास हुने गरेको छ । स्थानीय प्रशासन, सुरक्षा निकायबाट भएको सहयोग एवं भन्सार कर्मचारीले अहोरात्र गरेको योगदानकै कारण नियमित रूपमा राजस्व संकलन गर्ने कार्य सहज भएको भन्सार कार्यालयले जनाएको छ ।
 
रासस

Post Your Comment