Market Closed

बिमा कम्पनीहरुले लाभांश घोषणा र एजीएम गर्न नसक्नुमा यस्तो छ रहस्य

17 Jan,2020
  • insurance-protection_1_17_2020_7_22_55.jpg
इशारा कोइराला
 
काठमाडौं : बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिना सकिसक्दा पनि साधारण सभा बोलाउन सकेका छैनन् । एकाध निर्जीवनबाहेक अन्य त लाभांश घोषणा समेत गर्न नसकेको अवस्था छ । यसअवधिमा सूचीकृत २२ बिमा कम्पनीहरु मध्ये ५ वटाले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा प्रभु, नेपाल, हिमालयन, नेको र आइएमई जनरल इन्सुरेन्स रहेका छन् । लाभांश प्रस्ताव गरेका यी कम्पनीहरुको पनि अझै साधारण सभाको भने टुंगो छैन । नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्र (पुससम्म) मा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेर साधारण सभा गरिसक्नुपर्ने हुन्छ ।

तर, ६ महिना बितिसक्दा पनि बिमा कम्पनीहरुमा लाभांश प्रस्तावकै सुरसार पनि छैन । यता, नियामक बिमा समिति समेत लाभांश प्रस्ताव र साधारण सभाको मितिमा बारम्बार लचिलो बनेको देखिन्छ । बिमा कम्पनीहरुलाई नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार विवरण तयार गर्न समय लाग्ने भएकाले यसमा ढिलाई भएको समितिकै भनाई रहँदै आएको छ । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘नयाँ प्रणालीका कारण केही कठिनाई भएको होला, अब केही समयमै सबै बिमा कम्पनीहरुले लाभांश घोषणा गर्छन् ।’ 
 
यद्दपि, बिमा समितिले एनएफआरएस प्रणालीलाई मात्र दोष लगाए पनि वास्तविक कारण भर्ने अर्कै देखिएको छ । नेपाली पैसालाई प्राप्त जानकारी अनुसार बिमा कम्पनीहरुले निर्धारित समयमा लाभांश घोषणा र साधारण सभा गर्न नक्सनुको प्रमुख कारण भनेको नै ‘एक्चुरी भ्यालुएसन’ गर्न नसक्नु हो । एक्चुरी भ्यालुएसन गर्नका लागि नेपालमा दक्ष जनशक्ति अभाव रहेको भन्दै बिमा कम्पनीहरुले छिमेकी भारतमा पठाउने गरेका छन् । अर्को मुलुकमा तथ्यांकहरु पठाउँदा भ्यालुएसन भएर आउन पनि निकै विलम्ब हुने गरेको छ ।

यता, नेपालमा पर्याप्त जनशक्ति अभाव रहेको अवस्थामा नयाँ उत्पादन गरी उनीहरुलाई संगठित गर्न समेत नियामक बिमा समिति र बिमा कम्पनीहरुले खासै चासो देखाएका छैनन् । जसका कारण अझै लामो समयसम्म एक्चुरी भ्यालुएसनका नाममा हाम्रा बिमा कम्पनीहरुको तथ्यांक विदेशमा नै पठाउनुपर्ने देखिन्छ । यसबाट आन्तरिक तथ्यांकहरु हामीले थाहा पाउनुभन्दा पहिल विदेशमा पुग्ने मात्र होइन, भ्यालुएसनका लागि ठूलो रकम पनि विदेशिने अवस्था रहेको छ । 
 
बिमा कम्पनीहरु पनि सकेसम्म यस्ता भ्यालुएटरहरु (एक्चुरी) राख्न चासो देखाइरहेका छैनन् । राम्रै तलब सुविधा दिनुपर्ने भएकाले स्थायी कर्मचारीका रुपमा भ्यालुएटर राख्नुभन्दा वर्षमा एक पटक महँगो शुल्क तिरेर भारतबाटै तथ्यांक परीक्षण तथा भेरिफिकेसन गराउने प्रचलन हावी भएको हो । बिमा कम्पनीहरुले अहिले वार्षिक वित्तीय विवरणलाई मात्र एक्चुरी भ्यालुएसन गराइरहेका छन् । तर नियामकीय प्रावधान अनुसार प्रत्येक ३ महिनामा त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ । पछिल्लो समय बिमा कम्पनीहरुले पनि एनएफआरएस प्रणालीबाट वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

तर अनुभवीहरुका अनुसार बिमा कम्पनीहरुले अहिले सार्वजनिक गरिरहेका त्रैमासिक वित्तीय विवरणमा सबै तथ्यांकहरु स्पष्टरुपमा आउन सकेका छैनन् । बिमांकीय मूल्यांकनबिना रिपोर्ट सार्वजनिक गरिएकाले ती कम्पनीहरुको वास्तविक दायित्वका बारेमा आम लगानीकर्ताले थाहा पाउनै नसक्ने अवस्था छ । किन भने एक्चुरी भ्यालुएसनबिमा बिमा कम्पनीहरुको वास्तविक दायित्व थाहा हुँदैन । अहिले देखिएका तथ्यांकहरु एक्चुरी भ्यालुएसनपछि ठूलैमात्रामा परिवर्तन हुन पनि सक्ने स्वयं एक्चुरीहरु नै बताउँछन् ।

वर्षेनि बिमा कोषको आकार वृद्धि भएको देखिन्छ । जीवन बिमा कम्पनीहरुले पनि जीवन बिमा कोषको आकार विस्तार गरिरहेका छन् । तर यससँगै दायित्व पनि उत्तिकै बढिरहेको हुन्छ । यसर्थ, प्रत्येक त्रैमासिक रिपोर्टमा बिमा कम्पनीहरुले वास्तविक दायित्वको अवस्थाका बारेमा पनि तथ्यांक सार्वजनिक गर्न सकेमात्र आम लगानीकर्ताले वास्तविक सूचना पाउन सक्छन् । तर अहिले बिमा कम्पनीहरुलाई वार्षिक रिपोर्टमा समेत एक्चुरी भ्यालुएसन गराउन हम्मेहम्मे परेको अवस्था छ । त्रैमासिक रिपोर्टमा त अझै कहिले यस्ता वास्तविक तथ्यांक आउने हो, अनुमान गर्न समेत नसकिने अवस्था रहेको छ । 
 
यता, सगरमाथा इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री एक्चुरीले बिमा कम्पनीहरुमा भइपरि आउने समस्याहरुका बारेमा वास्तविक तथ्यांक र जानकारी दिने भएकाले यो निकै महत्वपूर्ण हुने बताए । कम्पनीहरुको जोखिम बहन गर्ने क्षमता पनि एक्चुरी भ्यालुएसनबाट मात्रै स्पष्ट हुन सक्छ । कम्पनीहरुको लाभांशदर लगायतका महत्वपूर्ण तथ्यांकहरु पनि एक्चुरी भ्यालुएसनबाट थाह हुने भएकाले पनि यसको निकै महत्व छ, उनी भन्छन् । 
 
पछिल्लो समय त्रिभुवन विश्व विद्यालय (त्रि.वि.) ले एक्चुरी पढाउन थालेकाले आगामी दिनमा नेपालमा एक्चुरीको अभाव नहुने उनको तर्क छ । यद्दपि, त्रिविको परीक्षा पास गरेर मात्रै एक्चुरी बन्न नसकिने तर्क कतिपय ‘फेलो एक्चुरी’हरुको रहेको छ । त्यसका लागि सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा पनि उत्तिकै अवश्यकता पर्ने उनीहरुको तर्क छ । अहिले त्रिविले एक्चुरी उत्पादनका लागि अध्ययन–अध्यापन सुरु गरेको छ । केही नहुनुभन्दा सुरुवात हुनु राम्रो भएपनि यो पर्याप्त नभएको अनुभवीहरु बताउँछन् ।

कोर्ष, समय तथा व्यावहारिक ज्ञानका हिसाबले अहिले सुरु गरिएको शिक्षाले वास्तविक एक्चुरी उत्पादन गर्न सक्दैन । यो एउटा गोरेटो मात्र हुनेछ, एक फेलो एक्चुरीले नेपाली पैसासँग भने । जनशक्ति अभावकै कारण पहिले ३–३ वर्षमा हुने एक्चुरी भ्यालुएसन बिमा कम्पनीहरुले केही वर्षअघि देखि मात्र वर्षेनि गराउन थालेका हुन् । नियामकीय प्रावधान अनुसार अहिले प्रत्येक वर्ष बिमांकीय मूल्यांकन गर्नुपर्ने भएको हो । 
 
तर फेलो एक्चुरीहरुका अनुसार वार्षिक रिपोर्टमा होइन, दायित्व अवस्थाका बारेमा वास्तविक तथ्यांक थाहा पाउन बिमा कम्पनीहरुले प्रत्येक त्रैमासिक रिपोर्ट नै बिमांकीय मूल्यांकन गरेर मात्र सार्वजनिक गर्नुपर्छ । त्यो रिपोर्टमा विशेषगरी कम्पनीको दायित्व पक्ष स्पष्ट देखिनुपर्छ । तर यसका लागि प्रत्येक बिमा कपनीहरुले एक्चुरी भ्यालुएटर राख्न आवश्यक छ । साथै, यसको महत्वका बारेमा पनि सर्वसाधारणले थाहा पाउन उत्तिकै आवश्यक रहेको फेलो एक्चुरी (वरिष्ठ बिमांकीय मूल्यांकनकर्ता) हरु बताउँछन् । 
 
 
 

Post Your Comment