Market Closed

अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख, तथ्यांक अझै बढ्ने

10 Apr,2020
  • usa_4_10_2020_2_21_30.jpg

 
 
न्यूयोर्क : कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्त राज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या १ करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोना भाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएका छन् । 

यहाँ १ करोडभन्दा बढीले रोजगारी गुमाइसकेका छन् । यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन् । यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो । लक डाउनका कारण काम नगर्ने र उद्योगधन्दा बन्द हुने दुवै कारणले बेरोजगारी बढेको हो । 
 
अझै धेरैको रोजगारी गुम्ने खतरा देखिएको छ । अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्ने अनुमान छ । यो अवस्था यो १९४८ को विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो । मिजौरीस्थित कन्सास सहरकी ५७ वर्षीय शारोन ब्रिजम्यानले दुई साता अघि रोजगारी गुमाए ।

उनी घरबारविहीन मानिसका लागि सेवा उपलब्ध गराउने एउटा गैरसरकारी संस्थामा कार्यरत थिए । तर हाल उनी पनि सरकारले उपलब्ध गराउने बेरोजगारी प्रोत्साहन भत्ताको पर्खाईमा छन् । “फेरि काम नपाइने हो कि भन्ने मलाई ठूलै चिन्ता लागेको छ,” उनले भने । “मैले जस्तै काम गर्ने अन्य मानिसहरुको अवस्था अझ कस्तो होला ?” 

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने दाबी गरेका छन् । अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी करिब २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
 
रासस–एपी
 
 
 

Post Your Comment