Market Closed

डब्ल्यूएचओ भन्छ–नेपाल अब कोरोनाको अति उच्च जोखिम होइन, उच्च जोखिम मात्र

25 Apr,2020
  • who-logo1_4_25_2020_5_41_37.jpg



काठमाडौं : नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट १ स्थान सुधार गरेर उच्च जोखिममा परेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाका कारण केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा राखेको हो ।

छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमण र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अति उच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्ल्यूएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए ।

उनका अनुसार नेपालले बन्दाबन्दीका साथमा अन्तराष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम भएको भन्दै उच्च जोखिममा झारिएको हो । ‘नेपालले समयमै लक डाउन गरेकाले बाहिरबाट थप संक्रमित आउने सम्भावना देखिएन,’ उनले भने, ‘त्यसैले नेपाल कोभिड–१९ को अति उच्च जोखिमबाट अब उच्च जोखिममा झारिएको हो ।’

नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लक डाउन गरिएको छ । कोभिड –१९ को परीक्षणको दायरासमेत बढाइएकाले अति उच्च जोखिमबाट तल झरेको बताइएको छ । नेपालमा कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको  संयोजत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ ।

साथै, कोभिड–१९ विपद् व्यवस्थापन सेन्टर स्थापना गरिएको छ । दुवैले आ–आफ्नो तरिकाले रोकथाम गर्नका लागि प्रयासरत रहेका छन् । यसैगरी, सरकारले मुलुकभर कोभिड अस्पतालका रुपमा २५ वटालाई हब अस्पताल बनाएको छ । ती अस्पतालमा कोभिड– १९ का बिरामीको मात्र उपचार हुने व्यवस्था गरिएको छ । कैलालीमा विदेशबाट आएकाबाट १ जनामा सरेपछि (लोकल ट्रान्समिसन) नेपाल कोभिड –१९ को दोस्रो चरणमा प्रवेश गरेको थियो ।

अहिले १५ स्थानमा पीसीआर र ७५ जिल्लामा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २५० जनामा १ जनामा परीक्षण गरिएको छ । हालसम्म नेपालमा पीसीआरबाट ९ हजार ४०९ र आरडीटीबाट ३८ हजार ८९ गरी ४७ हजार ४९७ जनामा परीक्षण गरिएको छ । तीमध्ये ४९ जनामा संक्रमण देखिएकामा १० जना उपचारपछि घर फर्किसकेका छन् ।

यसैगरी, कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि विदेशबाट आएका मानिसलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा प्रदेश र स्थानीय तहले सघाइरहेका छन् । अहिले १२ हजार ९८५ जना क्वारेन्टाइन र ८९ जना आइसोलेसनमा छन् । नेपालले मोबाइल एप र कल सेन्टरबाट पनि शंकास्पद बिरामीलाई पछ्याइरहेको छ । अहिले एपबाट २४ हजार ९२६ जनाले स्वाब परीक्षण गराइसकेका छन् ।

रासस


Post Your Comment