Market Closed

कोरोनाको औषधि नेपालमै बनाइसकेको त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको दाबी

29 Apr,2020
  • hetauda_4_29_2020_1_34_04.jpg



हेटौंडा :  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधि निर्माण गरेको दाबी गरेको राससले समाचार लेखेको छ । 
 
भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो क्यामेष्ट्रिमा पीएचडी उपाधि हासिल गरेका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जिमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधि तयार गरेको जानकारी दिए । 
 
वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदैै डा. दासले सरोकारवालासँग सहयोगको आह्वानसमेत गरेका छन् । कोरोना भाइरसको औषधि निर्माण गर्न कडा मेहेनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दाबी पनि उनले गरे । 
 
यसअघि उनले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर पनि बनाएका थिए । अध्ययन संस्थानका प्रमुख विजय यादव लगायतका वैज्ञानिक र रसायनविज्ञहरूले उनले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारीसमेत लिएका छन् । 
 
चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा कोरोनाको उपचार पद्धति र औषधिको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधिको थप परीक्षण हुन भने बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य संगठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दाबीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्नेछ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा. दास वाग्मती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्षसमेत हुन् । 
 
रासस

Post Your Comment