Market Closed

यस वर्षको अन्त्यतिर कोरोनाको ६१ करोड डोज औषधि उत्पादन गर्ने चीनको दाबी

26 Sep,2020
  • corona_vanncie_n_e_9_26_2020_10_11_25.jpg
 
बेइजिङ : चीनले सन् २०२० को अन्त्यतिर कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । विश्वभर विभिन्न ९ वटा खोप परीक्षणको अन्तिम चरणमा कामहरु भइरहेका छन् । जसमध्ये चीनद्वारा उत्पादित विभिन्न ४ वटा कोरोना भाइरस खोप विकास तीब्ररूपमा अघि बढेको छ । विश्वभरका वैज्ञानिकहरूले घातक संक्रमण विरोधी अभियानलाई अघि बढाउने क्रममा विश्वभर दर्जनौं खोपहरूको परीक्षणले महामारीबाट मुक्ति पाउने आशासहित विश्वले पर्खिरहेको छ । 
 
विश्वव्यापी महामारी निम्त्याएको कोभिड–१९ संक्रमितमध्ये करिब १० लाख मानिसको मृत्यु भइसकेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, “चीनले यस वर्षको अन्त्यसम्ममा कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने योजना बनाएको छ । खोपको वार्षिक उत्पादन क्षमता अर्को वर्षसम्म कम्तीमा १ अरब डोजसम्म  पुग्नेछ ।”
 
विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले भने, “चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।” अहिले चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा रहेको उनले जानकारी दिए । “हामीले क्लिनिकल परीक्षणका क्रममा खोपको सुरक्षालाई अति राम्रो अवस्थामा पाएका छौं । परीक्षणमा रहेका खोपबाट कुनै प्रतिकूल प्रतिक्रिया देखेका छैनौं,” उनले भने । चीनले गत जुलाईदेखि कन्दरगाह, अस्पताल तथा अति जोखिम रहेका हजारौं व्यक्ति (स्वयंसेवक) मा परीक्षण गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनबाट पनि राम्रो सहयोग पाइरहेको चीनको दाबी छ । “अहिलेसम्म कोविड आपतकालीन खोप कार्यक्रम अन्तर्गत सबै सहभागीमा गम्भीर प्रतिकूल प्रतिक्रिया देखाएको छैन,” चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका झेङ झोङवेले उक्त अवसरमा भने ।  खोपको क्षमताबारे विश्व स्वास्थ्य संगठनबाट पूर्ण मान्यता पाउन भने अझै केही समय लाग्ने उनले बताए । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने पनि उनले बताए । 
 
रासस–एएफपी 

Post Your Comment