Market Closed

कोरोना बिमाको दाबी भुक्तानी पाउने १५ हजार कटे, उनीहरुले साढे १ अर्ब बुझे

27 Dec,2020
  • corona_beam_12_27_2020_6_54_19.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना बिमाबापतको रकम भुक्तानी लिनेको संख्या १५ हजार नाघेको छ । बिमा समितिको तथ्यांक अनुसार शुक्रबारसम्म १५ हजार ८७९ जनाले कोरोना बिमाबापतको रकम भुक्तानी लिएका छन् । ती व्यक्तिहरुलाई हालसम्म १ अर्ब ५४ करोड ९३ लाख २५ हजार रुपैयाँ भुक्तानी भएको समितिको भनाई छ ।साथै, थप २ हजार ५१३ जना भुक्तानी पाउने पक्रियामा रहेका छन् । ३ हजार ५५५ जनाको फाइल भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) बाट स्वीकृत हुने प्रक्रियामा छ ।

बिमा समितिका अनुसार ती फाइल आउनासाथ थप ८७२ जनाको फाइल इडीसीडी पठाउने तयारी भएको छ । यता, बिमा समितिले भुक्तानीका लागि आवश्यक कागजपत्र पूरा नभएको भन्दै २ हजार ५३ फाइल सम्बन्धित बिमा कम्पनीहरुमा फिर्ता पठाएको जनाएको छ । यस्तै, ७९ वटा फाइलले बिमा भुक्तानीको मापदण्ड पूरा नगरेको तथा दोहोरो भुक्तानी माग भएको भन्दै रद्द गरिएको छ ।
 
कोरोना बिमा समयमा नै भुक्तानी नपाएको बिमितको गुनासो
 
कोरोना बिमाको दाबी भुक्तानीमा ढिलाई भएको भन्दै बीमितहरुले गुनासो गर्दै आएका छन् । कोरोना बिमाको दाबी भुक्तानीमा भएको ढिलासुस्तीको चौतर्फी विरोध भएपछि यसअघि अर्थमन्त्री विष्णु पौडेलले समेत चासो राख्दै ७ दिनभित्रै भुक्तानी दिन बिमा समितिलाई निर्देशन दिएका थिए । तर त्यो ७ दिनमा भुक्तानी हुनै नसकेपछि अर्थमन्त्रीले पुनः ३ दिनमा भुक्तानी दिन दोस्रो निर्देशन दिएका थिए । यति हुँदा पनि बीमितले भने समयमा नै भुक्तानी नपाएको गुनासो गरिरहेका छन् । 
 
 बिमा समितिका अधिकारीहरु भने अर्थमन्त्रीले भने जस्तो ३ दिनमा नै कोरोना बिमाको भुक्तानी हुन नसक्ने बताउँछन् । यसको प्रक्रिया लामो भएकाले ३ दिनमै भुक्तानी हुन नसक्ने समितिका एक अधिकारीको भनाइ छ । उनले भने, ‘कोरोना दाबी भुक्तानीका लागि सम्बन्धित बिमा कम्पनीमा बुझाउने, बिमा कम्पनीले पुल म्यानेजर समक्ष पाठउने अनि त्यहाँबाट पनि इडीसीडीमा पठाउनुपर्ने हुन्छ । यसर्थ, यो प्रक्रिया ३ दिनमा पूरा हुन निकै गाह्रो छ ।’ पछिल्लो समय दाबी भुक्तानी पाउनेको संख्या बढ्दै गएको उनको भनाइ छ ।

तथापि, विगत लामो समयदेखि दाबी भुक्तानीका लागि आवश्यक कागज पेश गर्दा पनि भुक्तानी नपाएको कतिपय बीमितहरुले बताउदै आएका छन् । बिमा समितिले यसअघि ५०० रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र १ हजार रुपैयाँ तिरेर १ लाख रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था गरेको छ । सामूहिक बिमा गर्दा भने ३०० तिरेर ५० हजार र ६०० रुपैयाँ तिरेर १ लाखको बिमा गर्न सकिने व्यवस्था छ ।

तर, कोरोना बिमाको दाबी भुक्तानी माग्नेको संख्या बढेसँगै बिमा कम्पनीहरु कोरोना बिमाबाट पाछि हट्न लागेका थिए । यसको चौतर्फी आलोचना र विरोधपछि बिमा समितिले भुक्तानी दिन निर्देशन दिएको थियो । तथापि, सुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै बिमा गरे अनुसार भुक्तानी दिनपर्ने व्यवस्था रहेकोमा पछि समितिले मापदण्ड संशोधन गरेर पोजिटिभ आए २५% तत्कालै र ७५% रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भर्पाइ पेश गरेपछि दिने व्यवस्था गरेको छ ।
 

Post Your Comment