Market Closed

कोभिड–१९ प्रभाव : सन् २०२० मा पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

03 Jan,2021
  • toursit_1_3_2021_6_41_34.jpg
काठमाडौं : सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्यांक अनुसार हवाईमार्ग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८ प्रतिशत पर्यटक आगमन घटेको छ ।

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए । कोभिडका कारण करिब ६ महिना नियमित अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् । बन्दाबन्दीपछि गत भदौ १६ देखि अन्तर्राष्ट्रिय र असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । 
 
बोर्डका अनुसार सबैभन्दा बढी भारतबाट २५ हजार ३२० पर्यटक नेपाल आएका छन् । चीनबाट ९ हजार ८०८ जना, अमेरिकाबाट ९ हजार ६८२ जना, थाइल्यान्डबाट ९ हजार ५१८ जना र म्यान्माबाट ९ हजार ४०० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । महामारीका कारण पर्यटक आगमन घटेको बोर्डका निर्देशक मणि लामिछानेले बताए ।

नेपाल घुम्न बढी पर्यटक मुख्य मुलुकबाट प्रतिशतका आधारमा भारतबाट सबैभन्दा बढी १७ दशमलव पाँच प्रतिशत पर्यटक आगमन छ । म्यान्माबाट नौ दशमलव एक, थाइल्याण्डबाट नौ, चीनबाट आड दशमलव चार, अमेरिकाबाट सात दशमलव सात र श्रीलंकबाट पाँच दशमलव आठ प्रतिशत पर्यटक आगमन रहेको छ ।
 
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । कोरोना महामारीले भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने बाध्यता प¥यो । नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, अमेरिका, बेलायत, जापान र जर्मनी रहेका छन् । गत वर्ष १० को यो सूचीमा अष्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।
 
रासस
 

Post Your Comment