Market Closed

बेलायतमा फेरि देशव्यापी लक डाउन घोषणा, नयाँ प्रजातिको कोरोना संक्रमित ह्वात्तै बढे

05 Jan,2021
  • uk_pm_s_1_5_2021_4_50_17.jpg
नेपाली पैसा
 
काठमाडौं : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पुनः देशव्यापी लक डाउन घोषणा गरेका छन् । बेलायतमा नयाँ किसिमको कोराना भाइरस संक्रमण थप तीब्ररुपमा फलिन थालेपछि पुनः लक डाउन गर्न बोरिस बाध्य भएका हुन् । पछिल्लो समय बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरसका कारण संक्रमित र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

बीबीसीका अनुसार हाल संक्रमणदर पहिलो चरणमा भन्दा अझ बढी देखिएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै बोरिसले पहिलो चरणको लक डाउनमा जस्तै प्राथमिक र माध्यमिक तहका विद्यालयहरु पूर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् । जसका कारण आगामी गर्मी महिनामा नियमित रुपमा परिक्षा गर्न कठिनाई हुने भएको छ । वैकल्पिक माध्यमबाट परिक्षा गराउने पनि उनले जानकारी गराए ।
 
बेलायती नागरिकहरुलाई घरबाहिर हिँडडुल गर्न पनि रोक लगाइएको छ । अत्यावश्यक वस्तुको खरिद, व्यायाम र स्वस्थ्य सहयोगका लागि मात्र बाहिर निस्कन पाइने भएको छ । जोनसने घरेलु हिंसाबाट छुटकारा पाउनका लागि बाहिर निस्कनुपर्ने अवस्था आएमा भने जान पाउने बताएका छन् ।



यसअघिको लक डाउनमा घरेलु हिंसाका उजुरीहरु धेरै बढेपछि जोनसनले अहिले यस्तो व्यवस्था गरेका हुन् ।बेलायतमा सोमबार सातौं दिन लगातार ५० हजार नयाँ कोरोना संक्रमित थपिएका थिए । पछिल्लो तथ्यांक अनुसार बेलायतका अस्पतालमा अहिले २६ हजार ६२६ जना कोरोना संक्रमित भर्ना भएका छन् । यो एक सातामा ३०% धेरै हो । 

 
 

Post Your Comment