Market Closed

एकै दिन करिब २३ हजारले खोले डिम्याट खाता : एकाएक यसरी वृद्धि हुनुमा के खास छ कारण ?

11 Jan,2021
  • dmat_1_11_2021_9_21_07.jpeg
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो समय डिम्याट खाता खोल्ने सर्वसाधारण लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । यसैक्रममा सोमबार एकैदिन करिब २३ हजार जनाले डिम्याट खाता खोलेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सोमबार (पुस २७ गते) सम्मको तथ्यांक अनुसार कुल २४ लाख ५१ हजार १७३ जनाले डिम्याट खाता खोलेका छन् । आइतबार पुस २६ गतेसम्म डिम्याट खाता खोल्नेको संख्या २४ लाख २८ हजार ३३४ जना थियो । यस तथ्याकका आधारमा एकै दिन २२ हजार ८३९ जना लगानीकर्ताले डिम्याट खाता खोलेको पुष्टि हुन्छ ।

सीडीएसका अनुसार पछिल्लो समय दैनिक औषत १० हजार जनाले डिम्याट खाता खोल्ने गरेका छन् । यसरी डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ह्वात्तै बढ्नुको मुख्य कारण भनेको दोस्रो बजारमा बढ्दो क्रममा रहेको सेयर भाउ नै हो । पछिल्लो समय आइपीओ खुला गरेर दोस्रो बजारमा सूचीकृत भएका प्रायः सबै कम्पनीको सेयरबाट लगानीकर्ताले राम्रो नाफा प्राप्त गरेका छन् ।

साथै, आइपीओमा लगानी गर्ने अवसर पनि वृद्धि हुँदै गएकाले पनि aखाता खोल्नेको संख्या बढेको हो । दोस्रो बजार सुधार हुँदै जाँदा प्राथमिक बजारमा पनि लगानीकर्ताको चाप वृद्धि हुने गर्छ । दिनप्रतिदिन दोस्रो बजारमा परिसूचकसँगै कारोबार रकममा पनि रेकार्ड ब्रेक हुँदै आएको छ । यसले पनि आम मानिसमा सेयर बजारप्रति आकर्षण बढेको जानकारहरु बताउँछन् । तथापि, एउटा व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था भएकाले पनि यो संख्या उच्च देखिएको हो ।
 
बैंक र क्यापिलहरुमा डिम्याट खाता खोल्नेको भीडभाड
 
बैंक तथा वित्तीय संस्था र क्यापिटलहरुमा डिम्याट खाता खोल्ने लगानीकर्ताको भीड लाग्न थालेको छ । बैंकमा अधिकांश व्यक्तिहरु डिम्याट खाता खोल्न र सीआरएन नम्बर लिनका लागि आइरहेको कृषि विकास बैंककी एक कर्मचारीले बताइन् । उनले भनिन्, ‘अहिले बैंकमा अधिकांश मानिसहरु डिम्याट खाता खोल्न र सीआरएन नम्बर लिनका लागि आउने गरेका छन् । उनका अनुसार अधिकांश सेवाग्राहीहरु आइपीओ भर्नका लागि डिम्याट खाता खोल्न आउने गरेका छन् । 
 
पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । आइपीओमा यसरी आकर्षण बढ्नुको मुख्य कारण भनेको पछिल्ला समय आइपीओ निष्कासन गरेर सूचीकृत भएका कम्पनीहरको दोस्रो बजारमा ह्वात्तै भाउ बढ्नु रहेको छ । आइपीओ सूचीकृत भएको छोटो समयमा नै कम्पनीहरुको सेयर भाउ आकासिने गरेको । जसका कारण लगानीकर्ताले छोटो समयमा नै उल्लेख्य फाइदा पनि पाइरहेका छन् । 
 
यसको अलावा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै ठूलो आइपीओ माघ २ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्दै छ । यसका लागि पनि लगानीकर्ता डिम्याट खाता खोल्न हतारिएका हुन् । साथै, नयाँ इन्सुरेन्स कम्पनीहरुको पनि आइपीओ धमाधम आइरहेको छ । इन्सुरेन्स कम्पनीहरु पनि लगानीकर्ताको रोजाईमा पर्ने गरेका छन् । 
 

Post Your Comment