Market Closed

भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा, रातको समयमा कर्फ्यु

05 Apr,2021
  • mumbai-curfew-bccl_4_5_2021_1_23_05.jpg
 
मुम्बई : कोरोना भाइरस संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्ध घोषणा गरिएको छ । रातको समयमा कर्फ्यु लगाएको छ । साथै, साप्ताहिक विदाका दिन शनिबार र आइतबार लक डाउन जारी हुनेछ । सोमबारदेखि लागू हुने गरी यस्तो प्रतिबन्ध घोषणा गरिएको हो । भारतमा पछिल्लो समय कोभिड १९ का धेरै संक्रमित भेटिएका छन् । आइतबार एकैदिन ९३ हजार २४९ जना संक्रमित थपिएका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर यताकै सर्वाधिक धेरै  हो । कुल संक्रमितमध्ये आधा भन्दा बढी महाराष्ट्र राज्यमा मात्रै देखिएका  छन् । महाराष्ट्र सुरुदेखि नै बढी प्रभावित राज्यमा पर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँ पछिल्लो समयमा फैलिएको संक्रमणको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ खटाउने निर्णयसमेत गरेका छन् । 
 
भारत कोरोना भाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको छ । कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी, अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या १ करोड २५ लाख भन्दा बढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
 
महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले नागरिकहरुले सुरक्षाका उपायहरू नअपनाएका कारणले यस्तो समस्या आएको बताएका छन् । सरकारले आग्रह गरिरहेको भए पनि सर्वसाधारणले मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि संक्रमितहरु देखिनेक्रम नघटेको उनले बताए । 
 
रासस–सिन्ह्वा

Post Your Comment