Market Closed

अर्बपति संख्यामा भारत तेस्रो स्थानमा, मुकेस अम्बानी एसियाकै धनी

08 Apr,2021
  • india_4_8_2021_12_53_40.jpg
नेपाली पैसा
 
काठमाडौं : सबैभन्दा धेरै अर्बपति हुने मुलुकमा भारत तेस्रो स्थानमा आएको छ । फोब्सले अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गर्दै अमेरिका र चीनपछि सबैभन्दा धेरै अर्बपति भारतमा भएको उल्लेख गरेको छ । भारतको रिलायन्स इडस्ट्रिजका मालिक मुकेस मम्बानी एसियाकै सर्वाधिक धनी व्यक्तिका रुपमा स्थापित भएका छन् । अम्बानीले एलिबाबाका संस्थापक ज्याक मालाई पछि पार्दै एसियाकै धनी व्यक्ति बनेका हुन् । 
 
अर्बपतिको सूचीमा अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोस पहिलो स्थानमा छन् । फोब्सको सूचीमा बेजोस लगातार चौथो वर्ष विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका हुन् । बेजोसको सम्पति गत वर्षको तुलनामा ६४ अर्ब डलरले बढेर १ खर्ब ७७ अर्ब डलर पुगेको छ । दोस्रो स्थानमा टेस्लाका मालिक एलन मस्क रहेका छन् ।

मस्कको सम्पति एक वर्षको अवधिमा १ खर्ब २६ अर्ब डलर भन्दा बढीले वृद्धि हुँदै १ खर्ब ५१ अर्ब डलर पुगेको छ । गत वर्ष मस्कको सम्पति २४.६ अर्ब डलर मात्र थियो । तर टेस्लाको सेयर भाउमा उछाल आएपछि मस्कको सम्पति ह्वात्तै बढेको हो । गत वर्ष टेस्लाको सेयर भाउ ७०५% ले बढेको थियो ।
 
यता, अम्बानी एसियाकै धनी व्यक्ति भए पनि विश्व सूचीमा भने १०औं स्थानमा रहेका छन् । अम्बानीको नेटवर्थ ८४.५ अर्ब डलर रहेको फोब्र्सले जनाएको छ । गत वर्ष एसियाका सर्वाधिक धनी रहेका ज्याक मा भने विश्व सूचीमा २६औं स्थानमा झरेका छन् । ज्याक मा गत वर्ष विश्वका १७औं धनी व्यक्ति थिए । यद्दपि, माको सम्पति भने गत वर्षको भन्दा १० अर्ब डलर बढेर ४८.४ अर्ब डलर पुगेको छ । अर्बपतिहरुको संख्यामा अमेरिका पहिलो र चीन दोस्रो स्थानमा छन् । 
 
अमेरिकामा अर्बपतिहरुको संख्या ७२४ जना रहेको छ भने चीनमा ६९८ जना अर्बपतिहरु छन् । तेस्रो स्थानमा रहेको भारतमा १४० जना अर्बपतिहरु छन् । भारतपछि जर्मनी १३६ र रुसमा ११७ जना अर्बपतिहरु छन् । फोब्सका अनुसार एसिया प्यासिफिक क्षेत्रका १ हजार १४९ जना अर्बपतिहरुको कुल सम्पति ४७ खर्ब डलर रहेको छ । यस्तै, अमेरिकी अर्बपतिहरुको कुल सम्पति ४४ खर्ब डलर छ ।
 
 फोब्सको सूचीमा विश्वका १०६ जना अर्बपतिहरुको उमेर ४० वर्षभन्दा कम रहेको छ । सबैभन्दा कम उमेरका अर्बपति जर्मनीका १८ वर्षीय केभिन डेभिड लेम्यान रहेका छन् । लेम्यान ३.३ अर्ब डलर सम्पतिसहित विश्व अर्बपतिहरुको सूचीमा ९२५औ स्थानमा रहेका छन् । यता, नेपाली धनाढ्य विनोद चौधरी पनि फोब्सको सूचीमा कायमै रहेका छन् । 
 

Post Your Comment