Market Closed

विस्तारै सम्हालिंदै सेयर बजार, नेप्से थोरै भए पनि बढ्यो

20 Apr,2021
  • bull_bear_3_4_20_2021_3_15_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार विस्तारै सम्हालिने प्रक्रियामा लागेको छ । पछिल्ला केही दिन बजार करेक्सनको बाटोमा गएको थियो । करेक्सनपछि अब विस्तारै सम्हालिने तरखरमा लागेको हो । बजार घट्दा सर्वसाधारण लगानीकर्ता अलि त्रसित हुने गर्छन् । अझै तल जान्छ कि भन्ने डरका कारण धेरैजसो ‘पर्ख र हेर’को अवस्थामा पनि बसेका हुन्छन् । सोही कारण घटेको बजार दिगो सुधार हुनका लागि केही समय लाग्ने गरेको हो ।

बजार सधैं एउटै रेखामा हिँड्दैन । घटेको बजार फेरि वृद्धि हुन्छ भन्नेमा विश्वस्त हुन जरुरी छ । तर सधैं घट्ने वा बढ्ने मात्र गर्दैन । तलमाथि हुँदै अग्रगामी यात्रा तय गर्ने हो । नेप्से सूचक २७ सय विन्दुभन्दा माथि गएपछि ट्रेडरहरु हावी भएका थिए । सोही क्रममा उनीहरुले बिक्री चाप बढाइदिंदा नेप्से केही प्रभावित भएको हो । यस्ता कारोबारीले नाफा बुक गरिसकेको अनुमान गरिएको छ ।

बजारमा भाउ पनि सस्तो भएको छ । अब फेरि ट्रेडरहरु खरिदतर्फ आकर्षित हुनेछन् । दीर्घकालीन लगानीकर्ताले पनि सस्तोमा खरिद गर्न चाहेका हुन्छन् । यसर्थ, बजारको गति विस्तारै सकारात्मक हुँदै जाने विश्लेषण गर्न सकिन्छ । मंगलबार विशेष गरी विकास बैंक र हाइड्रोपावर समूहमा तेजी आएको छ । अरु समूहहरुमा पनि क्रमशः सुधार हुने क्रममा रहेका छन् ।



नेप्से सूचक २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा आएको छ । ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१६ कम्पनीको १ करोड २३ लाख ६९ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ । ९ समूहको सूचक वृद्धि भएको छ । ४ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । कारोबार रकममा नागरिक लगानी कोष २१ करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रोमा निफ्रा र तेस्रोमा नबिल बैंक परेका छन् । 



Post Your Comment