Market Closed

सेयर धितो राखेर ८१ अर्ब ऋण : बजार बढ्दा कर्जा लिनेहरु थप उत्साहित

20 Apr,2021
  • share-loan_4_20_2021_8_34_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर धितो राखेर ऋण लिनेको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ । एक वर्षमा सेयर धितो राखेर ऋण लिनेहरुको संख्या ह्वातै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो ८ महिनाको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले ८१ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ४६ अर्ब ३९ करोड ३५ लाख रुपैयाँ बराबरको मात्रै सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

अहिले सेयर बजार वृद्धि भइरहेको छ । लगानीकर्ताहरु सेयर कर्जा लिन पनि यसरी नै उत्साहित हुँदै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह बढाएपछि सेयर बजारमा पनि नयाँ माहोल खडा भइरहेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार पछिल्लो केही महिनायता बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा जाने कर्जा (मार्जिन प्रकृतिको) अधिक अनुपातमा वृद्धि भएको छ ।

कोरोना भाइरस प्रभाव कम हुँदै गए पनि अझै अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा फर्किन सकेका छैनन् । जस कारण ती क्षेत्रबाट अपेक्षित रूपमा धेरै कर्जा माग हुन नसकेको बैंकरहरुले बताएका छन् । अहिले पुनः महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले रोकथामका लागि कडाई गर्न थालिसकेको छ । जसका कारण अझै केही समय बैंकहरुको कर्जा सेयर बजारमै जाने अनुमान गर्न सकिन्छ ।
 
लक डाउन खुकुलो भएपछि खुलेको सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले अधिक मात्रामा कर्जा लगानी बढाएका छन् । त्यसो त लक डाउन खुकुलो भएपछि सेयर बजार निरन्तरजसो (औसतमा) उकालो लागेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले गत असार मसान्तसम्म ५० अर्ब ४० करोड ९७ लाख रुपैयाँमात्र सेयर धितो कर्जा प्रवाह गरेका थिए । यसरी हेर्दा ८ महिनाको अवधिमा सेयर धितो कर्जा ६१.५% ले बढेको देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको उक्त अवधिमा भने यस्तो कर्जा वृद्धिदर २.२% ले मात्र बढेको थियो । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर निकै तल भरेको छ । कोरोनाका कारण अर्थतन्त्रको अन्य क्षेत्र चलायमान हुन नसक्दा बैंकहरुले सेयर कर्जाकै लागि छुट्टै प्रडक्ट बनाएर न्यून ब्याजदरमा कर्जा प्रवाह गर्दै आए । यसले पनि सेयर धितो कर्जा ह्वात्तै बढ्न सहयोग पुर्याएको हो । 
 
डिजिटल कारोबारमा पनि उल्लेख्य वृद्धि
 
राष्ट्र बैंकको नीति अनुसार डिजिटल कारोबारमा तीब्रता आएको छ भने भुक्तानी सेवा प्रदायक कम्पनीहरु पनि विभिन्न योजना सहित आक्रामक ढंगले सेवा विस्तार गरिरहेका छन् । पछिल्लो समय नेपालमा डिजिटल कारोबार बढ्दो क्रममा देखिएको छ । सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएपछि यस्तो कारोबार बढ्दै गएको देखियो ।

सरकारको नीतिसँगै नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तार गर्न विद्युतीय भुक्तानी प्रणालीको विकासलाई प्राथमिकता दिँदै आक्रामक रुपमा अगाडि बढेको देखिन्छ । त्यसो त कारोनाका कारण सरकारले गरेको लक डाउनले पनि डिजिटल कारोबारमा उल्लेख्य वृद्धि गर्न सहयोग पुर्याएको हो । 
 
मोबाइल बैंकिङबाट ४० अर्ब भन्दा बढीको कारोबार
 
फागुन मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङबाट ४० अर्ब भन्दा बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ८ महिनामा ४० अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार १ करोडभन्दा बढी पटकमा भएको हो । माघ महिनासम्मा ३८ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत असारसम्ममा मोबाइल बैंकिङबाट १८ अर्ब ८३ करोड रुपैयाँ मात्रै कारोबार भएको थियो । 

यसरी हेर्दा ८ महिनामा उल्लेख्य मात्रामा वृद्धि भएको देखिन्छ । यता, फागुनसम्ममा एटिएमबाट ६० अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत असारसम्ममा भने एटिएमबाट ५४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसअवधिमा कनेक्ट आइपिएसमार्फत १ खर्ब १० अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । असारसम्ममा कनेक्ट आइपिएसमार्फत ५१ अर्ब ३० करोड रुपैयाँमात्रै कारोबार भएको थियो । 
 

Post Your Comment