Market Closed

भारतमा एकै दिन झण्डै ४ हजारको मृत्यु, अरु ४ लाख १२ हजार संक्रमित थपिए

06 May,2021
  • ventilators_corona_5_6_2021_2_24_46.jpg
नयाँ दिल्ली : कोरोनाभाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै ४ हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ९८० जनाको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । 
 
यस्तै, भारतमा पछिल्लो एक दिनमा कोरोनाभाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको पाइएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल ४ लाख १२ हजार २६२ जना संक्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।  
 
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल २ करोड १० लाख ७७ हजार ४१० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २९ हजार ११३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या १ करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ । भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना कोरोनाभाइरसबाट संक्रमित भइरहेकै अवस्थामा रहेका छन् । 
 
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ । ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधबार परीक्षण गरिएको हो । भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

रासस–एएनआई
 

Post Your Comment