Market Closed

सामाजिक सुरक्षा कोष र बैंकहरुबीच जुहारी, नेप्सेमा सूचीकृत कति कम्पनी भए आवद्ध ?

07 Jun,2021
  • social-security_6_7_2021_7_54_36.jpg
इशारा कोइराला
 
काठमाडौं : पछिल्लो समय सामाजिक सुरक्षा कोष र बैंक तथा वित्तीय संस्थाबीच जुहारी जस्तै चलेको छ । कोषले बैंक तथा वित्तीय संस्थालाई पटकपटक कोषमा आवद्ध हुन सूचना जारी गरेको छ । यता, बैंक तथा वित्तीय संस्थाले भने अझै पनि यसमा आवद्ध हुने चासो देखाएका छैनन् । यसैबीच, कोषले बैंक तथा वित्तीय संस्थालाई आफूसँग आवद्ध हुन दबाब दिएपछि केही समय पहिले नेपाल वित्तीय संस्था कर्मचारी संघले त विज्ञप्ति नै निकालेर खाइपाई आएको सुविधा कटौती हुने गरी सामाजिक सुरक्षा योजनामा सहभागी हुन लगाइएको भन्दै आपत्ति प्रकट गरिसकेको छ ।  
 
विज्ञप्ति जारी गर्दै कर्मचारीहरुले यसरी दबाब दिनु अनुचित भएको ठहर गरेको हो । यस योजनामा जोड्न मरिहत्ते गरेर लाग्नु सामाजिक सुरक्षा कोष राज्यले परिकल्पना गरेको योजना र उद्देश्यविपरित हिँडेको भान हुन्छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ पार्दैन र ?’ यसपछि पनि कोषले नेपाल बैंकर्स संघलाई पुनः पत्र लेखी कोषमा आवद्ध हुन आग्रह गरेको छ । 
 
यसअघि कोषले दुईपटक पत्र लेखी आवद्ध हुन आग्रह गरेको थियो । यसबाहेक अनौपचारिक रुपमा पनि उसले बैंक तथा वित्तीय संस्थालाई कोषमा आवद्ध हुन पटकपटक आग्रह गर्दै आएको छ । यसैबीच, बैंक तथा वित्तीय संस्थाले कोषको नियम संशोधनका लागि माग गरेका थिए । उनीहरुको माग कोषले सम्बोधन गर्दै नियम संशोधन गरिदिएको थियो । तर, नियम संशोधन गर्दा पनि आफ्नो सेवासुविधा घट्ने भन्दै उनीहरु कोषमा आवद्ध हुन नचाएका हुन् । 
 
यही जुवारीका बीच केही बैंक तथा वित्तीय संस्थाहरु भने कोषमा आवद्ध भइसकेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले बताए । उनले भने, ‘केही बैंक तथा वित्तीय संस्था कोषमा आवद्ध भइसक्नु भएको छ । बाँकी भएका बैंक तथा वित्तीय संस्था पनि आवद्ध हुने तयारीमा रहनु भएको छ ।’ उनले जुन रुपमा बैंक तथा वित्तीय संस्था सामाजिक सुरक्षा कोषमा आवद्ध भएनन् भनेर हल्ला फिजिएको छ त्यस्तो नरहेको बताए ।
 
नेप्सेमा सूचीकृत ५२ कम्पनीका कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध
 
हालसम्म नेप्सेमा सूचीकृत ५२ वटा कम्पनीहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भएको कोषका प्रवक्ता पन्थीले नेपाली पैसालाई जानकारी दिए । ५२ कम्पनीमध्ये  ११ वाणिज्य बैंक, ३ वटा विकास बैंक र ७ फाइनान्स कम्पनी रहेका छन् । त्यस्तै, ३३ वटा इन्सुरेन्स कम्पनीहरु पनि कोषमा आवद्ध भएको प्रवक्ता पन्थीले जानकारी दिए । आवद्ध हुने सूचीकृत संस्थाहरुमध्ये धेरै बिमा कम्पनीहरु रहेका छन् ।

त्यस्तै, सूचीकृत र सूचीकृत हुन बाँकी गरेर ३५ वटा लघुवित्त कम्पनीहरु पनि कोषमा आवद्ध भइसकेका छन् । ८८९ वटा सहकारी, ३४ वटा इन्भेष्टमेन्ट कम्पनी, १५ वटा मनिट्रान्सफरहरु पनि आवद्ध भएका छन् । प्रवक्ता पन्थीका अनुसार हालसम्म १ हजार १०१ बैंक तथा वित्तीय संस्थाका करिब ११ हजार जना कर्मचारी समाजिक सुरक्षा कोषमा आवद्ध भइसकेका छन् । 
 
हालसम्म ५ अर्ब ९६ करोड  संकलन
 
सरकारले सामाजिक सुरक्षा कोष सञ्चालनमा ल्याएको करिब २ वर्ष पुग्न लागेको छ । तर, यसबीचमा २ लाख २४ हजार १६१ जना योगदानकर्ता मात्र सहभागी छन् । उनीहरुको योगदानबाट ५ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ । कोषले ९ करोड ५ लाख दाबी भुक्तानी गरेको छ ।

आगामी आर्थिक वर्षको बजेटमा पनि कोषमा आवद्ध हुन् आकर्षित गर्न सरकारले जेठ र असार महिनाको सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिक र रोजगारदाताको तर्फबाट सरकारले नै  रकम जम्मा गरिदिने घोषणा गरेको छ ।
 
असार मसान्तसम्म कोषमा सहभागी नभए के कारबाही हुन्छ ?
 
२०७८ असार मसान्तभित्र सामाजिक सुरक्षा कोषमा आवद्ध भएर संविधान र कानुनको पालना गर्नु भन्दै कोषले सूचना जारी गर्दै आएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन भएपछि सोही अनुसार योगदानमा आधारित हुने भनेको छ । २०७६ साउन एक गतेदेखि सामाजिक सुरक्षा कोष कार्यान्वयनमा आएको हो । पहिलो पटक ६ महिनाभित्र आइसक्नुपर्ने भनिएको थियो । नेपालको पहिलो अभ्यास भएकाले कोषले आफ्नो नियम दोस्रो पटक संशोधन गरिसकेको छ ।

तथापि, कसैले सामाजिक सुरक्षा ऐन अनुसार सुविधा दिएको छैन सो संस्थालाई सामाजिक सुरक्षा सरह सुविधा दिन निर्देशन दिने र सो निर्देशन अटेर गरे उसको चल–अचल सम्पतिबाट सरकारी बिगोसरह असुल उपर गरेर सम्बन्धित योगदानकर्तालाई भरपाइ गर्ने दायित्व समाजिक सुरक्षा कोषलाई छ । सामाजिक सुरक्ष कोषमा आवद्ध नभएको संस्थालाई २०७६ पछिको रकम जम्मा गर्न लगाउने  र नमानेमा कोषले असुल उपर गरेर योगदानकर्तालाई दिनेछ ।


 

Post Your Comment