Market Closed

के नेप्सेले ‘इन्ट्रा डे’ कारोबारको तयारी गर्दैछ, के हो यो भनेको ?

09 Jun,2021
  • intraday-trading_6_9_2021_7_45_37.png
इशारा कोइराला
 
काठमाडौं : नेपालमा ‘इन्ट्रा डे’ सेयर कारोबारको चौतर्फी चर्चा हुन थालेको छ । यसैबीच नेप्सेले ‘इन्ट्रा डे’ कारोबार अब नेपाली बजारमा पनि आवश्यक रहेको निष्कर्ष समेत निकालेको छ । नेप्सेले यसबारेमा पर्याप्त अध्ययन गरेर दोस्रो बजारमा ‘इन्ट्रा डे’ कारोबार आवश्यक रहेको निष्कर्ष निकालेको हो । नेप्सेले प्रवक्ता मुराहरि पराजुलीको संयोजकत्वमा ‘इन्ट्रा डे’ कारोबारको सम्भाव्यता अध्ययन गरेको थियो ।

उक्त अध्ययन प्रतिवेदनले दोस्रो बजारको दायरा फराकिलो भएको र अनलाइन प्रणालीले पनि प्रभावकारी रुपमा काम गर्न  थालेकाले अब जतिसक्दो चाँडो ‘इन्ट्रा डे’ कारोबार सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएको छ । उक्त अध्ययन प्रतिवेदन सञ्चालक समितिमा पठाइसकिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । यसलाई सञ्चालक समितिले पनि सकारात्मक रुपामा लिएको नेप्से स्रोतको भनाई छ ।

तथापि, ‘इन्ट्रा डे’ कारोबार सञ्चालनका लागि विद्यमान  ऐन तथा नीतिलाई संशोधन गर्न आवश्यक रहेको निष्कर्ष अध्ययनले निकालेको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘‘इन्ट्रा डे’ कारोबारका लागि केही कानुनी अप्ठ्याराहरु छन् । यसलाई कार्यान्वयनमा ल्याउन ती ऐन, नियम तथा विनियमहरु संशोधन आवश्यक देखिएको छ ।’
 
साथै, यसलाई तत्कालै सुरु गर्नका लागि आवश्यक पूर्वाधारको रुपमा सेयर सापटी तथा अक्सन मार्केट सञ्चालन गर्नुपर्ने अनि आवश्यक ऐन कानुनमा आवश्यक संशोधन गर्नुपर्ने अध्ययनले देखाएको हो । लगानीकर्ताहरुले ‘इन्ट्रा डे’ कारोबार सुरु गर्न नियामक नेपाल धितोपत्र बोर्ड तथा बजार सञ्चालक नेप्सेलाई दबाब दिइरहेका छन् । खासगरी अत्याधिक सेयर कारोबार हुने मुलुकमा ‘इन्ट्रा डे’ लागू गरिएको पाइन्छ ।

जहाँ कारोबार तथा सूचीकृत कम्पनी पनि धेरै रहेका हुन्छन् । दक्षिण एसियाली मुलुक भारत, बंगलादेश र पाकिस्तानमा ‘इन्ट्रा डे’ लागू भइसकेको छ । नेपालको सन्दर्भमा पछिल्लो समय सेयर कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ ।  सूचीकृत कम्पनी पनि थपिँदै गएका छन् । यसकारण पनि ‘इन्ट्रा डे’ लागू गर्नुपर्ने निष्कर्ष नेप्सेको रहेको छ ।

सेयर बजारका सबै लगानीकर्ताले दीर्घकालीन सोच राखेर लगानी गर्दैनन् । उनीहरुमध्ये कतिपय ‘सर्ट टर्म’ लगानी गर्न चाहन्छन् । दोस्रो बजारमा मूल्य उतारचढाव छिटोछिटो हुने गर्छ । तत्काल सस्तोमा किनेर महँगोमा बेच्छु भन्ने मानसिकताले सेयर बजारमा लगानी गरिएको हुन्छ । त्यस्ता लगानीकर्तालाई ‘इन्ट्रा डे’ कारोबार प्रणाली लागू गर्दा फाइदा हुन्छ ।
 
यता, नयाँ बजेटमार्फत अल्पकालीन र दीर्घकालीन लगानी  गरी फरकफरक पुँजीगत लाभकर निर्धारण गरिएको छ । सरकारले गरेको वर्गीकरण अनुसार १ वर्षभन्दा कम अवधिलाई अल्पकालीन र १ वर्षभन्दा बढी अवधि लगानी गर्दा दीर्घकालीन भनेर छुट्याइएको छ । यसले पनि ‘इन्ट्रा डे’ कारोबारमा जान केही आधार तयार गरेको छ । 
 
के हो ‘इन्ट्रा डे’ कारोबार ?
 
सामान्यतयः एकै दिन सेयर किन्ने र बेच्ने दुवै गर्न सकिने व्यवस्था नै ‘इन्ट्रा डे’ कारोबार हो । यसलाई नेपालीमा अन्तरदिन कारोबार पनि भन्न सकिन्छ । उदाहरणका लागि कसैसँग ‘ए’ भन्ने बैंकको सेयर छ, बिहान बजार खुलेदेखि कारोबार बन्द हुँदासम्म सेयरको मूल्य तलमाथि हुने आँकलन गरी बेच्ने वा किन्ने र फेरि बेच्ने निर्णय गरिन्छ । बेलुका सेयरको मूल्य घट्यो भने त्यही बिहान बेचेको सेयर घटेको मूल्यमा बेलुका किनेर बिहानको क्षतिपूर्ति गर्न सकिन्छ ।

बिहान बेच्यो अनि बेलुका त्यही सेयर किनेर पनि नाफा कमाउन तथा घाटा पूर्ति गर्न सकिन्छ । ‘इन्ट्रा डे’ मा भएको कारोबारलाई एकमुष्ट गरी वार्षिक, अर्धवर्षिक, त्रैमासिक, मासिक, पाक्षिक वा साप्ताहिक रुपमा हिसाब जोड्दा नाफा भए पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिन्छ । ‘इन्ट्रा डे’ मा भएको कारोबारमा लाग्ने लाभकर निर्धारणका लागि सुरुमा कारोबार थाल्नुअघि नै कर कार्यालय, नेप्से, धितोपत्र बोर्ड र लगानीकर्तासमेत मिलेर त्यसको विधि तय गर्न सक्छन् । 
 

Post Your Comment