Market Closed

अन्ततः फर्कियो सेयर बजारको रौनकता : नेप्से ७९.४४ अंकले फर्किंदा अरु के–के भयो ?

22 Jun,2021
  • bull_(1)s_6_22_2021_3_24_02.jpg
नेपाली पैसा 
 
काठमाडौं : करिब २ सय अंकको नेट करेक्सनपछि सेयर बजारमा पुनः आकर्षक तेजी आएको छ । मंगलबार बजार बन्द हुँदा ७९.४४ अंकले बढ्दै नेप्से सूचक २९१३.८४ विन्दुमा आइपुगेको हो । सूचक फेरि २९ सय अंकमाथि आइपुग्दा आम लगानीकर्ता पनि उत्साहित भएका छन् । १० अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
 
यसअघि नियामक निकाय नेपाल धितोपत्र बोर्डको विज्ञप्ति प्रकरणपछि बजार एकाएक तल झरेको थियो । आम लगानीकर्ताले मनोबल गुमाएर प्यानिक सेल गरेका थिए । तर यसरी आत्तिएर सेयर बेच्नेहरु विस्तार सकिंदै गएपछि बजार पुनः गतिशील बनेको हो । नेप्से सूचकमा आकर्षक बढोत्तरी अनि औसत अवस्थाको कारोबार रकमले लगानीकर्ता उत्साहित भएको विश्लेषण गर्न सकिन्छ । 
 
यो सेयर बजारको सिजन हो । असार साउनलाई सेयर लगानीकर्ताले प्रमुख सिजन मानेर कारोबार गरिहेका हुन्छन् । अब साउन लाग्ने बित्तिकै सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउन थाल्नेछ । त्यसपछि लाभांश घोषणा गर्ने क्रम सुरु हुनेछ । अहिले सेयर खरिद गर्नेले निकै छोटो अवधिमा लाभांश हात पार्नेछन् ।

यसर्थ, यस्तो बेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । मजुबत कम्पनीमा लगानी गर्नेले आत्तिएर बिक्री गर्नृपर्ने अवस्था नरहेको अनुभवीहरुको भनाई रहेको छ । तथापि, आम लगानीकर्ताले आफ्नो जोखिम बहन क्षमता र होल्ड गर्न सक्ने अवधिलाई पनि सधैं ख्याल गर्न जरुरी छ । 
 
असार मसान्त नजिकिंदै जाँदा अब बजारमा पैसाको आपूर्ति बढ्नेछ । सरकारी खातामा रहेको रकम धमाधम बजारमा आउनेछ । विकासनिर्माण काम बापतको पैसा सरकारले भुक्तानी गर्नुपर्ने हुन्छ । बैंक ब्याजदर सस्तो छ । यी परिदृश्यहरुका आधारमा लगानीकर्ताले आफ्नो निर्णय गर्न आवश्यक हुन्छ ।

यो बुल रन हो । यो अझ सबैभन्दा महत्वपूर्ण पक्ष हो । यो रन जारी रहँदासम्म बजारमा आउने अवरोधहरुलाई पनि सजिलै पार गर्दै नेप्से अघि बढ्नेछ । तर बेलाबखतमा हुने उतारचढावहरुसँग लगानीकर्ता त्रसित हुनु भने हुँदैन । कारोबार भएका सबै समूहको सूचकमा वृद्धि देखिएको छ ।



हाइड्रोपावर, विकास बैंक र फाइनान्स समूहका सूचक नै सबैभन्दा बढी वृद्धि भएका छन् । वाणिज्य बैंक समूहमा पनि सुधार देखिएको छ । २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३३ कम्पनीको भाउ ९% भन्दा बढीदेखि सर्किट तहसम्म कारोबार भएको छ । 

 
 
 
 
 
 
 
 

Post Your Comment