Market Closed

व्यापार घाटाको ग्राफ चुलियो : सबैभन्दा धेरै घाटा चीन र भारतसँग

26 Jul,2021
  • balance-of-trade2_7_26_2021_8_09_29.jpeg
नेपाली पैसा
 
काठमाडौं : गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार घाटा चुलिएको छ । एक वर्षमा व्यापार घाटा करिब १४ खर्ब रुपैयाँ पुगेको छ । यो व्यापार घाटा गत आर्थिक वर्षको संशोधित बजेटको आकारभन्दा धेरै हो । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–७८ को तथ्यांकअनुसार एक वर्षमा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७६–७७ को तुलनामा यो रकम २७.२६% ले बढी हो । २०७६–७७ मा मुलुकको व्यापार घाटा १० खर्ब ९९ अर्ब ८ करोड रुपैयाँ थियो । आयात नगरी नहुने मात्र नभई प्रतिस्थापन गर्न सकिने वस्तुको समेत आयात बढ्दा मुलुकको व्यापार घाटा चुलिएको हो । नेपालको वैदेशिक व्यापार १५ खर्ब ३९ अर्ब रुपैयाँको भएको भन्सार विभागको तथ्यांकमा छ । यो भनेको अघिल्लो वर्षको तुलनामा करिब ३०% बढी हो ।
 
निर्यातमा पनि सुधार 
 
गत आर्थिक वर्षमा आयात व्यापार बढेको छ । एक वर्षको अवधिमा आयात व्यापार २८.६६% ले बढेर १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो अर्थिक वर्ष २०७६–०७७ मा आयात व्यापार ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँ थियो । यता, निर्यातमा पनि सुधार भएको छ । निर्यात व्यापार ४४.४३% बढेर १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष ९७ अर्ब ७० करोडको निर्यात भएको थियो ।
 
एक वर्षमा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
 
सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०७७–७८ मा पेट्रोलियम पदार्थको आयात मात्र २ खर्ब भन्दा बढीको भएको छ । जसमा पेट्रोलियम पदार्थ आयातमा मात्रै १ खर्ब ६० अर्ब ५३ करोड बाहिरिएको छ । यसैगरी डिजेल खरिदमा ९१ अर्ब ९४ करोड बाहिरिएको छ ।

एलपी ग्यास खरिदमा ३६ अर्ब १५ करोड र पेट्रोल खरिदमा ३२ अर्ब ४४ करोड बाहिरिएको विभागको तथ्यांक छ । तरकारीजन्य वस्तुको आयात वाषिर्क ३८ अर्ब ५० करोड रुपैयाँमाथि पुगेको छ । यस्तै, ३६ अर्ब ९० करोडको मोबाइल फोन, २९ अर्ब ४८ करोडको तयारी कपडा आयात भएको भन्सार विभागले जनाएको छ । 
 
नेपालबाट भने सबैभन्दा बढी वनस्पति तेल र सो प्रकारको वस्तु निर्यात भएको छ । वनस्पती तेल र यो समूहको निर्यात ५५ अर्ब ९५ करोड रुपैयाँ भन्दाबढी भएको तथ्यांकमा देखिएको छ । भटमासको तेल निर्यातले समग्र निर्यात बढाएको छ । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिंगापुर र मलेसियाबाट कच्चा तेल आयात गर्छन् । आयातित कच्चा पदार्थ रिफाइन गरेर पुनः भारत निर्यात गर्ने गरिएको छ ।
 
भारतसँग ८ खर्ब र चीनसँग २ खर्बको व्यापार घाटा
 
नेपालको सबैभन्दा बढी व्यापार घाटा छिमेकी मुलुक भारत र चीनसँग छ । दुई छिमेकी मुलुक मध्येपनि सबैभन्दा धेरै व्यपार घाटा भारतसँग छ । गत वर्ष नेपालले भारतबाट मात्रै ९ खर्ब ७१ अर्ब ६० करोड ३९ लाख ४५ हजार रुपैयाँ भन्दा बढीको सामान आयात गरेको छ । नेपालले भने भारतलाई १ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको विभागको तथ्यांकमा छ ।

यसआधारमा हेर्दा भारतसँग नेपालको व्यापार घाटा ८ खर्ब ६५ अर्ब २३ करोड १८ लाख ९० हजार रुपैयाँ पुगेको छ । नेपालमा चीनबाट २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । चीनमा भने मात्र १ अर्ब १ करोड रुपैयाँको सामान निर्यात भएको छ । जसअनुसार चीनसँग नेपालको व्यापार घाटा २ अर्ब ३२ अर्ब ९० करोड रुपैयाँ छ । 

Post Your Comment