Market Closed

सेयर बजार फेरि किन घट्यो ?

26 Sep,2021
  • bull_na_nbear_s_9_26_2021_3_14_47.png
नेपाली पैसा 
 
काठमाडौं : करेक्सनपछि उकालो लागेको नेप्से आइतबार फेरि दबाबमा परेको छ । करेक्सनपछि बढेको बजारमा नाफा बुक गर्ने ट्रेडरहरु हावी भएपछि बजार फेरि केही घटेको हो । नेप्से सूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा अडिएको छ । ६ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २६१४ अंक आसपासमा आएको नेप्से तेज गतिमै फर्किएको थियो । यसरी बढेको बजारबाट अल्पकालीन कारोबारीले नाफा बुक गरेका हुन् ।

सोही कारण आइतबार सूचकमा दबाब परेको विश्लेषकहरु बताउँछन् । तल्लो विन्दु परीक्षणपछि फर्किएको बाजरमा केही दिन उतारचढाव हुनु स्वभाविक भएको उनीहरु बताउँछन् । प्राविधिक विश्लेषकरु पनि करेक्सन फेजमा तल्लो विन्दु टेस्ट गरेको बजारले फेरि नयाँ उचाई लिनुअघि पटकपटक सूचक तलमाथि गर्ने प्रवृत्ति हुने बताउँछन् । 
 
छोटो समयमा बजारमा भारी गिरावाट आउँदा सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान कमजोर भएको छ । आत्मबल घटेका बेला उनीहरुमा थप लगानी गर्ने उत्साह कम हुन्छ । यसर्थ, लगानीकर्ताहरुले सकारात्मक मनोविज्ञानका साथ बजारमा प्रवेश गर्न सक्नुपर्छ । घटेको बजार फेरि माथि जान्छ भन्ने आत्मविश्वास विकास हुन जरुरी छ । बजार घटबढ हुँदै अघि बढ्छ । यो संसारभरकै सेयर बजारको साझा विशेषता हो । 
 
यसर्थ, आम लगानीकर्ताले योजनाबद्ध हिसाबले लगानी नीति तय गर्नुपर्छ । होल्ड गर्ने समय, जोखिम बहन क्षमतालाई पनि ख्याल गर्नुपर्छ । लगानी गरिने कम्पनीको नाफा, रिजर्भ, इपीएस, नेटवर्थ, भविष्यमा व्यवसाय विस्तारको सम्भावना लगायतका प्रमुख सूचकलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । 
 
लाभांशको सिजन सुरु भएको छ । बैंकहरुसहित सूचीकृत कम्पनीहरुले धमाधभ लाभांश घोषणा गर्न थालेका छन् । अहिले सेयर होल्ड गर्नेले केही समयमै लाभांश हात पार्न सक्नेछन् । यस्तै, अब वित्तीय प्रंणालीमा तरलता सहज हुँदै जाने अनुमान गरिएको छ । किन भने बजेट प्रमाणीकरण भइसकेको छ । सरकारले रोकिएका भुक्तानी पनि धमाधम दिन थालेको छ । यसबाट बजारमा पैसाको आपूर्ति सहज हुनेछ । 
 
स्थानीय निकायमा पनि बजेट जानेछ । यस्तै दसैंंतिहारमा बजारमा कारोबार बढ्ने भएकाले पैसाको आपूर्ति वृद्धि हुन्छ । चाडपर्वमा रेमिटेन्स आउनेक्रम पनि बढ्नेछ । यी परिदृश्यहरुका कारण सेयर बजारमा क्रमशः सकारात्मक संकेतहरु देखिन थाल्ने अनुमान गर्न सकिन्छ । मनकामना स्मार्ट लघुवित्तको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।



कारोबार रकममा ३३ करोड ९५ लाख रुपैयाँभन्दा बढीसहित अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रोमा फरवार्ड माइक्रोफाइनान्स संस्थापक सेयर र तेस्रोमा नेपाल बैंक परेका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा बढी घटेका छन् । 



Post Your Comment