Market Closed

कस्तो रह्यो दसैंअघिको अन्तिम दिनको सेयर बजार ?

11 Oct,2021
  • bull_na_nbear_s_10_11_2021_3_17_33.png
नेपाली पैसा 
 
काठमाडौं : दसैंअघिको अन्तिम कारोबार दिन अर्थात सोमबार पनि सेयर बजार घट्ने क्रम जारी रहेको छ । यस दिन नेप्से सूचक २३.१९ अंकले घटेर २६३९.३७ विन्दुमा अडिएको छ । ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबार पनि बजार घटेको थियो । केही समययता बजार दोहोरो अंकले तलमाथि गरिरहने क्रम चलेको छ । बढ्दा पनि फराकिलो अंकले बढ्ने अनि तल झर्दा पनि दोहोरो अंकको गिरावट आउने प्रवृत्ति देखिएको हो ।

यसअघि छोटो समयमा भारी गिरावट आएको बजार विस्तारै सम्हालिने प्रयासमा रहेको छ । तर करेक्सनका बेला डराएका लगानीकर्ताले थोरै वृद्धि हुने बित्तिकै बिक्री गर्दा बजार अस्थिर जस्तो पनि देखिएको छ । यस्तै, ट्रेडरहरुले पनि छिटोछिटो नाफा बुक गर्ने भएकाले पनि बजार अलिकति बढ्ने बित्तिकै फेरि घट्न थालेको हो । यस्तै, प्राविधिक विश्लेषकहरुका अनुसार प्राविधिक नियम अनुसार बजारले विभिन्न किसिमका चरण र वेभहरु पार गर्नुपर्ने हुन्छ ।

जस अनुसार फरक चरणमा फरक किसिमको प्रवृत्ति देखिन्छ । नेप्सेमा ठूलो अंकको गिरावट आएको र अब करेक्सनपछि नयाँ उचाई तय गर्नुअघि यस्ता उतारचढावहरु देखिएको उनीहरुको भनाई छ । सोमबार कारोबार रकम पनि कम देखिएको छ । दसैंका बेला कारोबार रकम कम हुनुलाई भने विश्लेषकहरुले सामान्य मानेका छन् । आम लगानीकर्तामा फेस्टिभ मुड सुरु भइसकेको छ । यसले पनि बजारलाई केही प्रभावित गराएको हो । 
 
बजारको दिगो सुधारका लागि तत्काल नीतिगत सुधार खाँचो भएको सरोकारवालाहरुले बताएका छन् । विशेषगरी राष्ट्र बैंकको नीतिका कारण बजार बेस्सरी प्रभावित भएको हो । सेयर धितो कर्जामा १२ करोडको सीमा, तरलता अभाव अनि ब्याजदरको विषयले सेयर बजारलाई नकारात्मक प्रभाव पारिरहेको छ । यस्तै, सेयर बजारमा घटबढ भइरहन्छ भन्ने ख्याल गर्नुपर्छ ।

लगानीकर्ताहरुले लाभांशको सिजनमा अत्यावश्यक नपरी आत्तिएर निकै सस्तो मूल्यमा सेयर बिक्री गर्नु घातक हुन सक्ने कतिपयको भनाई रहेको छ । यसर्थ, लगानीकर्ता स्वयंले आफ्नो वित्तीय अवस्था र होल्ड गर्न सक्ने क्षमतालई समेत ख्याल गरी बजारमा आफ्नो रणनीति बनाउनुपर्छ । सबल वित्तीय सूचक भएका विशेषगरी नाफा, रिजर्भ, लाभांश क्षमता, व्यवसाय विस्तारको सम्भावनालाई समेत ख्याल गरी अघि बढ्न सक्नुपर्छ । 

 
यस दिन म्युचुअल फन्ड र इन्भेष्टमेन्टबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । ग्लोबल आइएमई समुन्नत स्किम १ को भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । १७ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र महालक्ष्मी विकास बैंक परेका छन् । यस दिन २१९ कम्पनीको ९३ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । 
 
 
 

Post Your Comment