Market Closed

बैंकहरुले सार्वजनिक गरे नयाँ–नयाँ योजना

11 Oct,2021
  • dashain-_10_11_2021_7_33_20.jpg
नेपाली पैसा
 
काठमाडौं : दसैं, तिहार तथा छठ पर्वका अवसरमा किनमेल बजारमा उपहार नै उपहारको बहार छाएको छ । चाडवाड विशेष व्यवसायीहरुले मौका छोपेर ग्राहक तान्ने गरी आकर्षक छुट योजनासहित बम्पर उपहार दिने योजना अघि सारेका छन् । विभिन्न सपिङ महलहरुले आकर्षक योजना सार्वजनिक गर्दै नयाँ नयाँ स्कीमहरु ल्याएका छन् । गजेटदेखि अटोमोबाइले आकर्षक योजना र उपहार सार्वजनिक गरेका छन् । यसरी व्यापारिक क्षेत्रमा नयाँ नयाँ स्कीम र उपहारहरु सार्वजनिक भइरहँदा बैंक तथा वित्तीय संस्थाहरुले पनि आकर्षक योजनाहरु सार्वजनिक गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले चाडपर्व लक्षित योजनाहरु सार्वजनिक गर्न थालेपछि केन्द्रीय बैंकले भने यसमा रोक लगाएको छ ।  सोमबार मात्रै एकीकृत निर्देशन, २०७७ मा संशोधन गरी केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्ने उद्देश्यले कुनै पनि किसिमका उपहार तथा पुरस्कारका कार्यक्रम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।

निर्देशनमा भनिएको छ, ‘निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार, चिठ्ठा, प्रतियोगिता, पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।’ केन्द्रीय बैंकको यो भन्दा अघिल्लो निर्देशनमा नै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन गर्दा सुनचाँदीका सिक्कालगायतका कुनै पनि किसिमका उपहार प्रदान गर्न नपाउने व्यवस्था रहेको थियो ।

यस्तो व्यवस्था भए पनि बैंकहरुले भने विभिन्न योजना सार्वजनिक गर्न छाडेका छैनन् । तथापि, यसैबीच धेरै बैंक तथा वित्तीय संस्थाले भने दशैं योजना भन्दै निक्षेपका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले भने नयाँ योजनाहरु समेत ल्याएका छन् । हेरौं, कुन–कुन बैंकले चाडपर्व लक्षित योजना के–के ल्याए :
 
नबिल बैंकको मुद्दति खातामा ९.२६% ब्याजदर
 
नबिल बैंकले दशैंको अवसर पारेर नयाँ ब्याजदर योजना सञ्चालनमा ल्याएको छ । बैंकले दसैंको अवसर पारेर सुनौलो उपहारको रुपमा मुद्दति खातामा उत्कृष्ट ब्याजदरको बहार योजना ल्याएको हो । बैंकले असोज १ गतेदेखि नै लागू हुनेगरी व्यक्तिगत मुद्दति खातामा ९.२६% ब्याजदर दिने जनाएको छ । 
 
एनआइसी एसिया बैंकको दसैं योजना : डिजिटल कारोबार गर्नेलाई आकर्षक उपहारदेखि २५% सम्म क्यास ब्याक
 
एनआइसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहनका निमित्त चाडपर्वका अवसरमा ‘डिजिटल दसैं’ योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकहरूलाई आकर्षक उपहारदेखि अधिकतम २५% सम्म क्यास ब्याक तथा छुट प्रदान गरिने बैंकले जनाएको छ ।

किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत इ–कमर्स तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले क्यूआर भुक्तानी गर्दा आकर्षक छुट तथा क्यास ब्याकको व्यवस्था गरेको हो । 
 
बैंकले असोज २१ देखि कात्तिक २१ सम्म यस बैंकको भिसा कार्डमार्फत पीओएस कारोबार गर्ने ग्राहकहरूलाई २५% सम्म क्यास ब्याकको योजना ल्याएको छ । जसअनुसार पहिलोपटक पीओएस कारोबार गर्दा १०% वा अधिकतम ५०%, तेस्रो पटक कारोबार गर्दा १५% वा १२५% र पाँचौं पटक कारोबार गर्दा २५% वा २५०% सम्म क्यास ब्याक अफर रहेको छ । यीसँगै बैंकले विभिन्न कम्पनीका उपहारहरू पनि प्रदान गर्ने छ ।
 
सानिमा बैंकको दसैं अफर : सामान खरिदमा छुट साथमा इएमआई, रेमिट्यान्स मुद्दति खातामा १०.५१% ब्याजदर
 
सानिमा बैंकले दसैं लक्षित योजना सार्वजनिक गरेको छ । जसअनुसार अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने बैंकले जनाएको छ । यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २०% वा अधिकतम् २ हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
 
यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरूले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सकिने छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फर्स्ट कम फर्स्ट सर्भ’को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा लिँदा ५०० क्यास ब्याक पनि प्रदान गर्दै आएको छ ।

साथै, बैंकले ‘दशैं बम्पर योजना’ अन्तर्गत रेमिट्यान्स मुद्दति खातामा १०.५१% सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१% सम्म उच्च ब्याजदर दिइरहेको बैंकको भनाई छ ।
 
मेगा बैंकको मुद्दति खाता योजना : ९.५५% ब्याजदरको साथमा नयाँ बचत खाता योजना पनि
 
मेगा बैंक नेपाल लिमिटेडले मुद्दति तथा बचत खातामा ९.५५% सम्म ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दसैंको अवसरमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको जनाएको हो । यसैगरी, बचत खातामा ६.०५% सम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।  
 
यसैगरी, मेगा बैंकले वार्षिक ब्याजदर ५.०५% सम्म रहेको मासिक रुपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महा बचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सुविधा निःशुल्क दिने पनि बैंकले जनाएको छ । २ वर्षसम्म लकर शुल्कमा ५०% छुट र उपभोक्ता कर्जा शुल्कमा २५% छुट सुविधा रहेको यस खाता न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने मेगा बैंकले जानकारी दिएको छ ।
 
नेपाल बैंकमा खाता खोल्दा टेलिकमबाट सुविधा पाइने
 
चाडपर्वको पारेर नेपाल बैंकले दुई वटा विशेष सुविधासहितको बचत खाता सञ्चालनमा ल्याएको छ । नेपाल बैंकमा सो खाताहरु खोल्ने ग्राहकलाई विशेष सुविधाका प्याकेजहरु दिने बैंकले जानकारी दिएको हो । बैंकले विद्यार्थी र दम्पत्तिलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । शून्य व्यालेन्समा ‘शुभज्ञान बचत खाता’ र ५०० रुपैयाँ न्यूनतम व्यालेन्समा ‘शहयात्री बचत खाता’ खोल्न सकिने छ । जसमा नेपाल टेलिकमको निःशुल्क सिमकार्डका अतिरिक्त विशेष सुबिधाका प्याकेजहरु उपलब्ध हुने छन् ।
 
टेलिकमले दिएका अफरहरुमा नेपाल टेलिकमको निःशुल्क सीममार्फत विद्यार्थी र दम्पत्तिलाई सिम एक्टिभ भएको मितिले एक महिनासम्म हरेक दिन १० एसएमएस, १०० एमबी डाटा र ४० मिनेट भ्वाइस कल निःशुल्क उपलब्ध हुने छ । त्यसैगरी नेपाल बैंकको मोबाइल बैकिङ एप चलाउँदा १ वर्षसम्म इन्टरनेट शुल्क नलाग्ने र यो योजना अन्तर्गत खाता खोल्ने ग्राहकलाई नेपाल बैंकले थप १ महिनाको लागि १ जिवी डाटा निःशुल्क उपलब्ध गराउने छ ।
 
त्यस्तै, कामना सेवा विकास बैंकले एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारमा रहेकाहरुलाई लक्षित गरी ल्याइएको यो बचत खातामा ७% ब्याजदर तोकिएको छ । यो खातामा पहिलो वर्ष मोबाइल र इन्टरनेट बैंकिङसमेत निःशुल्क रहेको छ ।

यता, मुक्तिनाथ विकास बैंकले भिसा डेविट कार्ड बाहक र मोबाइल बैकिङ ग्राहकहरुलाई आगन्तुक रिसोर्टमा छुटको व्यवस्था गरेको छ । आगन्तुक रिर्सोटको बसाई र खानामा विशेष छुट रहेको बैंकले जनाएको छ ।
 
 
 

Post Your Comment