Market Closed

सेयर बजारमा करेक्सन के हो ? के यसबाट नयाँ अवसर सिर्जना हुन्छ ?

14 Oct,2021
  • correction_10_17_2021_9_44_10.jpg
समिर गौतम
 
काठमाडौं : एक लगानीकर्तालाई आफ्नो लगानी पोर्टफोलियोको भाउ बढेको हेर्न जति हतार सायद अरु कुनै कुरामा नहुन पनि सक्छ । तर प्यानिकको समयमा पोर्टफोलियोमा आउने गिरावट देख्दा पनि उत्तिकै पीडादायी हुनसक्छ । यद्दपि, बजारमा उतारचढावहरु आउनुलाई सामान्य नै मान्ने गरिन्छ । साथै, बजारमा गिरावट आउनु सँधै नराकारत्मक नै हुन्छ भन्ने पनि छैन । किनभने, यस्ता कतिपय गिरावटहरु स्टक मार्केट थप वृद्धिको आधार हुन सक्छ । यस्तै बेलाबखतमा आइरहने करेक्सनले नै बजारलाई नयाँ उचाईमा लैजाने आधार खडा गरिरहेको हुन सक्छ ।

अनि, करेक्सनलाई बुझ्न सकियो भने आफ्नो पोर्टफोलियोलाई थप प्रभावकारी ढंगले व्यवस्थापन गर्न अनि सम्पति अझै वृद्धि गराउन सकिन्छ । बुल बजारमा पनि पनि बेलाबखत सानाठूला करेक्सनहरु आइरहेका हुन्छन् । सोही करेक्सनको न्यूनतम विन्दुबाट बजारले फेरि अर्को उच्चतम रेखा कोरेको हामी देख्न सक्छौं । अब सेयर बजार करेक्सन के हो र यो जान्न किन आवश्यक छ भन्ने विषयमा केही चर्चा गरौं ः
 
के हो त सेयर बजार करेक्सन ?
 
करेक्सनका पनि केही मान्यताहरु छन् । तथापि, बजार वियरिसमा गएको वा करेक्सनमात्र भएको भन्ने जान्नका लागि केही मान्यताहरु अघि सारेको पाइन्छ । तथापि, यो सर्वमान्य सिद्धान्त भने नहुन पनि सक्छ । सामान्यतयः १०% देखि २०% सम्मको बजारको गिरवाटलाई करेक्सन भन्ने गरिन्छ । यस्तो करेक्सन समग्र सेयर बजारमा मात्र नभई कुनै कम्पनी विशेषमा पनि हुन सक्छ ।

अप्राकृतिक ढंगबाट फुलाइएको सेयर मूल्य र बजारको अस्थिर वृद्धिलाई सुधार गर्न करेक्सन देखापर्ने गर्दछ । सेयर बजार करेक्सन सामान्यतयः केही महिनासम्म पनि रहन्छ । कुनैकुनै करेक्सन केही दिनमा मात्र सीमित पनि हुने गरेको छ । यहाँ बजारको व्याख्या गर्न लगानीकर्ताले प्रयोग गर्ने केही मुख्य पदावलीबीचको फरक बुझ्न जरुरी हुन्छ । ती हुन् :
 
–करेक्सन : बजारको अस्थायी (छोटो समयको) गिरावट ।

–क्र्यास : सेयर भाउमा अप्रत्यासित र अचानक आउने गिरावट (अक्सर समग्र अर्थतन्त्रमा उथलपुथलको संकेत गर्ने) ।
 
–बियर मार्केट : लामो समयसम्म बजार भाउमा २०% वा सो भन्दा बढीले आउने स्थिर गिरावट ।
 
–बुल मार्केट : लामो समयसम्म बजार माथिल्लो गतिमा लाग्ने वा माथिल्लो विन्दुतिर स्थिर भएको अवस्था ।
 
सेयर बजारमा विभिन्न कारणले करेक्सन आउन सक्छ । कतिपय लगानीकर्ता बजारको ट्रेन्डलाई पछ्याउने हुन्छन् । कतिपयले सेयरको भाउ भविष्यमा थप बढ्ने अनुमानका आधारमा खरिद गर्दछन् । अनि, अन्यले त्यसैलाई पछ्याउँछन् । खरिद चाप बढ्दा सेयरको भाउ पनि बढ्छ । भाउ बढेको मौका छोपी सेयर होल्ड गरेकाले प्रोफिट बुक गर्न बिक्री चाप बढाइदिन्छन् ।

यस्तो ट्रेन्डलाई पछ्याउनेहरुका कारण सेयर भाउमा अल्पकालीन गिरावट देखिन्छ । लगानीकर्तामा बजारप्रति आत्मबल वृद्धि हुने र घट्ने विषयले पनि यसलाई मलजल मिल्छ । राम्रो समाचारले पनि कृत्रिम मूल्य वृद्धि हुने सम्भावना रहन्छ । त्यस्तै, कहिलेकाँही बजार यस्तो विन्दुमा पुग्छ जहाँ सेयरको भाग घट्छ र लगानीकर्ताले कम भाउमा पनि सेयर बेच्नुपर्ने हुन्छ । 
 
करेक्सनले बजारलाई कस्तो असर पुर्याउँछ ?
 
अप्रत्यासित मार्केट क्र्यासको सम्भावनालाई टाढा राख्न पनि बजारले आफूलाई करेक्सन गरेको हुन्छ । यो विशेषगरी बढ्दो बजारमा देखा पर्दछ । इतिहासलाई हेर्ने हो भने अधिकांश मार्केट करेक्सनमा २०% भन्दा बढी गिरावट देखिँदैन । साथै, करेक्सनपछि बजार प्रायः पुरानै उच्च विन्दु वा अझ त्यो भन्दा नयाँ उचाईको बुल मार्केटमै बाउन्स ब्याक हुने गरेको देखिन्छ । अर्को अर्थमा भन्नुपर्दा, करेक्सनपछि बजार झन् सकारात्मक बनेको देखिन्छ । 
 
यद्दपि, बजार करेक्सन भयानक अवस्थामा परिणत हुने सम्भावना पनि रहन्छ । सामान्यतया, करेक्सनमा बजार २०% भन्दा पनि तल झर्यो र लामो समयसम्म गिरावट स्थिर देखियो भने बजार बियरिस बन्ने सम्भावना हुन्छ । बजार गिरावटको यो अवधिलाई प्रायः सुस्त अर्थतन्त्र, उच्च ब्याजादर र उच्च बेरोजगारी दरले साथ दिएका हुन्छन् ।

यसले करेक्सनका कारण समग्र बजारमा गर्ने असरको व्याख्या गरेपनि कम्पनी विशेष सेयरले करेक्सनमा समान किसिमको प्रतिकृया दिन्छन् भन्ने ठान्नु गलत हुन्छ । अधिक उतारचढाव (भोलाटाइन) सेयरहरुले करेक्सनप्रति छिट्टै प्रतिक्रिया दिन्छन् । तर धेरै उतारचढाव नहुने सेयरमा करेक्सनको असर कम देखिन्छ । 
 
मार्केट करेक्सनले किन फरक पार्दछ ?
 
मार्केट करेक्सनले पोर्टफोलियो तथा आफूले लगानी गरेको सेयरको प्रदर्शनमा असर पुर्याउँछ । तसर्थ, मार्केट करेक्सन कहिले हुन्छ वा हुने सम्भावना छ भन्ने थाहा पाउनु जहिले पनि फाइदाकारी नै हुन्छ । सामान्य अर्थमा भन्ने हो भने दीर्घकालीन लगानीकर्तालाई मार्केट करेक्सनले न्यून मात्र असर गर्दछ वा खासै फरक पर्दैन भन्दा पनि हुन्छ । किन भने, बजारको बढ्दो गतिमा देखा पर्ने करेक्सनले दीर्घकालीन लगानीकर्ताको पोर्टफोलियोमा खासै ठूलो फरक पार्दैन ।

एकदुई दिनको उतारचढावमा यस्ता लगानीकर्ताले टाउको दुःखाउनुपर्ने आवश्यकता पनि पर्दैन । अझ भन्ने हो भने दीर्घकालीन र विविधिकरणसमेत भएको पोर्टफोलियोलाई असर गर्ने सम्भावना झन् थोरै हुन्छ । कम भोलाटाइल सेयरलाई करक्सनले कम असर गर्ने भएकाले त्यस्ता सेयरहरु पोर्टफोलियोमा समावेश गर्नुपर्दछ । तर अल्पकालीन सेयर कारोबार गर्नेलाई भने मार्केट करेक्सन ठूलो सम्भावनाका साथै कहिलेकाँही टाउको दुखाईको विषय पनि बन्न सक्छ ।

करेक्सनले राम्रा सेयरहरु कम भाउमा किन्ने मौकासमेत दिन्छ । तर बेच्न भ्याएको छैन तर बजारले घट्ने क्रम जारी राख्यो भने जोखिमको सम्भावना पनि त्यति नै हुन जान्छ । कतिपय लगानीकर्ताले बजारमा करेक्सन आउने समयको अनुमान पनि लगाउने गर्दछन् । तर बजार कसैको अनुमानको भरमा चल्दैन । अनुमान मिल्न पनि सक्छ र नमिल्न पनि । त्यसैले बजारमा यही बेला करेक्सन देखा पर्छ भनेर ठोकुवा गर्न भने सम्भव छैन । 
 
अन्त्यमा, स्टक मोर्कट करेक्सन अनिश्चित र कतिपयका लागि त्रासपूर्ण भएपनि यसलाई बजारको प्राकृतिक हिस्सा मान्नु पर्दछ । अनि, अवसरका रुपमा लिन सक्नुपर्छ । लगानीमा सँधै ध्यान दिनुपर्ने कुरा भनेको बजारको सामान्य घटबढका आधारमा आवेगपूर्ण लगानी कहिल्यै पनि गर्नु हुँदैन ।

आफ्नो पोर्टफोलियोलाई प्रभावकारी ढंगबाट व्यवस्थापन गर्नका लागि सेयर मार्केट करेक्सनका बारेमा पनि जान्न र बुझ्न जरुरी हुन्छ । साथै, सेयर बजारमा धैर्यता अर्को महत्वपूर्ण विषय हो । बजार केही घट्दैमा आत्तिनु हुँदैन । किन भने त्यो करेक्सन मात्र हुन सक्छ र यसले अर्को नयाँ अवसर लिएर आउन सक्छ । 

Post Your Comment