Market Closed

कोरोनाको डेल्टा प्लस भेरियन्ट निकै संक्रामक, बेलायतमा देखियो असर

24 Oct,2021
  • coronavirus-india-delta-plus-variant_10_24_2021_8_18_05.jpg
 
लण्डन : बेलायतको एउटा स्वास्थ्य सुरक्षा निकाय (युकेएचएसए) ले डेल्ट प्लस भेरियन्ट झन चाडो फैलिन सक्ने निष्कर्ष निकालेको छ । यस निकायका अधिकारीहरुले गत शुक्रबार सार्वजनिक गरेको विवरणमा लामो समयको अध्ययनबाट यस्तो निष्कर्ष निकालिएको उल्लेख छ । यस बारेमा थप अध्ययन भइरहेको पनि उनीहरुको भनाइ छ । तर यसको असर भने गम्भीर प्रकारको नहुने सकारात्मक संकेत पनि अनुसन्धानकर्ताहरुले सुनाएका छन् ।

अहिले उपलब्ध रहेका खोपहरूले नै यसबाट संक्रमितहरुलाई बचाउन सकिने उनीहरुको निष्कर्ष रहेको छ । बेलायतमा पछिल्लो समय कोरोना भाइरसबाट दैनिक संक्रमित संख्या अत्यधिक धेरै देखिएको  छ । ती मध्ये डेल्टा भेरिअन्टबाट संक्रमितहरु पनि धेरै रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएकोे विवरण अनुसार विश्वमा कोरोना भाइरसका हजारौं नयाँ भेरिअन्टहरू अहिले फैलिरहेका छन ।

भाइरस उत्परिवर्तित भइरहने हुँदा नयाँ भेरियन्ट देखा पर्नुलाई आश्चर्यजनक रुपमा लिनु नपर्ने उनीहरुको भनाई छ । अमेरिकामा पनि डेल्टा प्लस भेरिअन्टका कारण धेरै मानिस संक्रमित भएको पाइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । त्यसैगरी, डेनमार्कमा पनि यो भेरिअन्ट देखिएको छ । कोरोना भाइरसले आफ्नो रुप फेर्दै फैलिँदै गरेकाले कतिपय देशहरुले आफ्नो देशका बासिन्दालाई खोपको अतिरिक्त मात्रासमेत दिन थालेका छन् । 
 
साथै मास्क लगाउने, सेनिटाइजर वा साबुन पानीको प्रयोग गर्ने, सम्भव भएसम्म सामाजिक दुरी कायम गर्नेलगायतका उच्च सतर्कता भने अपनाउनुपर्नेमा सबैले जोड दिने गरेका छन् । त्यसैगरी कोठाका झ्यालढोका खुला राख्न, कुनै लक्षण देखिए पीसीआर परीक्षण गर्न र नेगेटिभ नतिजा नआउन्जेल एक्लै बस्न पनि उनीहरुले आह्वान गर्ने गरेका छन् । कोरोना भाइरसले रुप फेर्दै जाँदा अहिले प्रयोग हुँदै र प्रभावकारी हुँदै आएका खोपहरुले पनि काम नगर्ने अवस्था पनि आउन सक्नेतर्फ विज्ञहरुले सतर्क गराएका छन् । 
 
रासस–सिन्ह्वा
 

Post Your Comment