Market Closed

लगानीमा महत्वपूर्ण एक प्रश्न, ब्याज रोज्ने कि लाभांश खोज्ने ?

18 Nov,2021
  • dividend_vs_interert_11_18_2021_7_36_19.jpg
समिर गौतम 
 
काठमाडौं : ‘ब्याज’ र ‘लाभांश’ लगानीकर्ताले प्राप्त गर्न सक्ने २ प्रमुख प्रकारका आम्दानीहरु हुन् । दुवै आम्दानीकै स्रोत भएका कारण कतिपयले यसलाई समानार्थक रुपमा समेत लिने गरेको पाइन्छ । तर, ब्याज र लाभांश पूर्ण रुपमा फरकफरक अवधारणाहरु हुन् । यी दुईको अर्थ, प्रकृति, दायरा, गणनाको विधि र यिनीहरुले प्रदान गर्ने अवसर जस्ता विषयमा मुख्य भिन्नता रहेको छ ।

ब्याज र लाभांशबीचको फरक कुन किसिमको लगानीबाट आम्दानी भुक्तानी हुन्छ भन्ने विषयले पनि निधारण गरेको हुन्छ । अर्थात, ब्याज कसले पाउँछ र लाभांश कसले पाउँछ भन्ने विषयमा पनि भिन्नता रहन्छ । ब्याज र लाभांशबीच धेरै भिन्नताहरु छन् । यहाँ सबैभन्दा महत्वपूर्ण भिन्नताहरुलाई चर्चा गरिएको छ :
 
– ब्याज भनेको ऋणीले पैसा लिए वापत तिर्ने शुल्क हो । यहाँ, ऋण लिने व्यक्ति वा संस्थाले ऋण दिने व्यक्ति वा संस्थालाई ऋण लिए–दिए वापत तिर्ने शुल्क नै ब्याज हो । उदाहरणका लागि, बैंकमा भएको बचत वा मुद्दति खातामा प्राप्त हुने ब्याज आम्दानीलाई लिन सकिन्छ । यहाँ तपाईंले आफ्नो पैसा बैंकलाई प्रयोग गर्न दिनु भएका कारण बैंकले तपाईंलाई ब्याज तिर्दछ ।

यसको विपरीत बैंकबाट तपाईंले ऋण लिनु भएमा बैंकलाई ब्याज दिनुपर्ने हुन्छ । अर्कोतर्फ, लाभांश भनेको नाफाको हिस्साबाट वितरण गरिएको आम्दानी हो । यो चाहिँ कम्पनीमा पुँजी लगानी गरेका इक्विटी सेयरहोल्डर र अग्राधिकार सेयरहोल्डरहरुलाई आर्जित नाफाबाट वितरण गरिन्छ ।
 
– ब्याजलाई कसैको पैसा अरु कसैलाई प्रयोग गर्न दिँदा लाग्ने शुल्कको रुपमा लिन सकिन्छ । लाभांश भनेको कम्पनीका लगानीकर्ताहरुलाई लाभ फिर्ता दिने एक माध्यम हो ।
 
– ब्याजका लागि नाफाको आवश्यकता पर्दैन । नाफा कमाउने कुनै सम्भावना छैन भने पनि ब्याज चाहिँ तिर्नै पर्छ । अर्कोतर्फ, लाभांशका लागि भने कम्पनीले विभिन्न किसिमले नाफा कमाएकै हुनुपर्छ । 
 
– ब्याज र लाभांश कसलाई दिइन्छ भन्ने विषय महत्वपूर्ण छ । ऋणदाताहरु तथा कम्पनीले जारी गरेका डिबेन्चर, बन्ड लगायत लगानी उपकरणमा लगानी गरेकाहरुलाई ब्याज वितरण गरिन्छ । अर्कोतर्फ, कम्पनीमा सेयर लगानी गरेका इक्विटी सेयरधनी र अग्राधिकार सेयरधनीहरुलाई लाभांश वितरण गरिन्छ । ब्याज पाइने सबैभन्दा महत्वपूर्ण ठाउँ बैंक, वित्तीय संस्थामा गरिएको निक्षेप त त्यसै पनि हुँदै हो । 
 
– ब्याज अनिवार्य तिर्नुैपर्छ । यो तिर्न इच्छा भए तिर्ने वा नतिर्ने भन्ने किसिमको ऐच्छिक विषय होइन । जुनसुकै अवस्थामा पनि ब्याज तिर्नु नै पर्छ । अर्कोतर्फ, लाभांश दिने वा नदिने विषयमा भने कम्पनीले निर्णय लिन सक्छ । साथै, अवस्था हेरेर लाभांश कहिले दिने र कहिले नदिने भन्ने विषयमा पनि कम्पनीले निर्णय लिन सक्छ । 
 
– ब्याज पूर्वनिर्धारित हुने गर्छ । कति प्रतिशत ब्याजदरमा ऋण लिने वा दिने भनेर सुरुमै निर्धारण गरिएको हुन्छ । अर्कोतर्फ, कति लाभांश पाउने वा नपाउने भन्ने विषय कम्पनी र यसको रणनीतिक योजनामा भर पर्छ । कम्पनीले कति नाफा कमाउँछ त्यसकै आधारमा लाभांश निर्धारण गरिन्छ । त्यसैले यो खासै पूर्वनिर्धारित हुँदैन । यद्दपि, अग्राधिकार सेयरधनीका लागि भने लाभांश पूर्वनिर्धारित नै हुन्छ ।

त्यसो भए अब ब्याजका लागि लगानी गर्ने कि लाभांशका लागि ?

कहिलेकाहीँ कम्पनीहरुको लाभांश वितरण क्षमता उच्च हुन्छ भने कहिले घटेको हुन्छ । यस्तै, ब्याजदर पनि कहिलेकाहीँ उच्च हुन्छ भने कुनै बेला न्यून भएको हुन्छ । यी दुवै अस्थिर नै छन् । बजारको अवस्थाले लाभांश र ब्याज दुवैलाई प्रभावित बनाइरहेको हुन्छ । साथै, नीतिगत व्यवस्थाहरुले पनि दुवैलाई अस्थिर बनाउँछन् ।

कम्पनीले आज दिएको लाभांशले भविश्यको प्रतिनिधित्व गर्दैन । यस्तो अवस्थामा ठोकुवा गरेरै यो भन्दा यो राम्रो भन्न सकिँदैन । लगानीकर्ताले सम्पूर्ण परिस्थितिलाई विचार पुर्याएर लगानी गर्नुपर्दछ । कतिपय अवस्थामा ब्याजदर फाइदाकारी बन्नसक्छ भने कतिपय अवस्थामा लाभांश लाभदायक हुन सक्छ ।
 

Post Your Comment