Market Closed

युरोपमा बढ्दो कोरोना संक्रमण अत्यन्तै चिन्ताजनक-डब्लूएचओ

22 Nov,2021
  • World-Health-Organization-Logo_11_22_2021_11_04_10.png
काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय युरोपभर बढिरहेको कोरोना संक्रमणबारे अत्यन्तै चिन्ताजनक रहेको बताएको छ । क्षेत्रीय निर्देशक डाक्टर हान्स क्लगले चेतावनी दिँदै तुरुन्त उपयुक्त कदम नउठाए मार्चसम्म ५ लाख बढीको मृत्यु हुन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । डाक्टर क्लगका अनुसार जाडोयाम सुरु हुनु, खोप दर पर्याप्त नहुनु र युरोपेली क्षेत्रमा बढी संक्रमक डेल्टा भेरियेन्ट हावी हुनुले संक्रमण गम्भीर स्थितिमा पुगेको छ । 
 
त्यसैले उनले खोप लगाउने सहित साधारण कोभिड मापदण्डहरु पालन गर्नतर्फ जोड दिन अपील गरेका छन् । उनले भनेका हुन्, “फेरि पनि कोभिड–१९ युरोपेली क्षेत्रमा मृत्युको नम्बर १ कारण बन्न पुगेको छ । र हामीलाई भाइरस विरुद्ध लड्न के गर्नुपर्छ भन्ने थाहा छ । ” यसमा उनले खोपलाई अनिवार्य गर्नु अन्तिम विकल्प बन्न सक्ने बताए । यसमा उनले उदाहरण दिँदै मास्क लगाउने क्रम बढाउनाले मात्र पनि अहिलेका लागि धेरै मद्दत गर्ने बताए । 
 
पछिल्लो केहीदिनयता युरोपमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेपछि कतै आंशिक त कतै पूर्ण लकडाउनको घोषणा गरिएको छ । शुक्रबार मात्र कोरोनाका कारण पूर्ण लकडाउन गर्ने अष्ट्रिय पहिलो युरोपेली मुलुक बनेको थियो । यसका साथै त्यहाँ पहिलोपटक खोप लगाउनैपर्ने कानुन पनि ल्याउन लागिएको छ ।

बीबीसी
 

Post Your Comment