Market Closed

के अब तरलता सहज होला, मौद्रिक नीति समीक्षाले के संकेत गर्न खोजेको छ ?

26 Nov,2021
  • governor_11_26_2021_11_28_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : मौद्रिक नीति समीक्षाले प्रत्यक्ष र सीधारुपमा तरलता सहज बनाउन धेरै कुरा केही बोलेको छैन । तर अप्रत्यक्षरुपमा रुपमा समीक्षामार्फत केही खुकुलोपनाको वातावरण सिर्जना गरिदिएको छ । साथै, एनआरएन सम्बन्ध गरिएको एउटा व्यवस्थाले पनि निक्षेप संकलनमा केही सहज हुने देखिएको छ । समीक्षामा सीडी रेसियो २०७९ असार मसान्तसम्म तोकिएको सीमाभित्र राख्न बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालक समितिबाट पारित गराई केन्द्रीय बैंकमा पेश गर्नुपर्ने भनिएको छ ।

यस व्यवस्थाले तोकिएको सीडी रेसियो कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नै थप जिम्मेवार बनाएको देखिन्छ । उनीहरुले सञ्चालक समितिबाट पारित गराई अग्रीमरुपमा केन्द्रीय बैंकमा कार्यायोजना पेश गर्नुपर्ने भएपछि यसमा केही सहज हुनेछ । अग्रीम योजना तय हुनेछ । जथाभावी तरिकाले कर्जा प्रवाह हुनेछैन । साथै, केन्द्रीय बैंकले हस्तक्षेप गरिरहनुपर्ने अवस्था नआउने अनुमान गरिएको छ । 
 
 यस्तै, गैरआवासीय नेपालीहरु तथा उनीहरु संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सहजीकरण गरिने भएको छ । यो बैंकहरुले माग गरिरहेकै विषय हो । यसबाट विदेशी मुद्रा निक्षेप संकलन वृद्धि हुन सक्ने अपेक्षा गर्न सकिन्छ । साथै, नीति समीक्षामार्फत गरिएका व्यवस्था कार्यान्वयनका लागि आगामी दिनमा जारी हुने थप निर्देशनहरुले पनि तरलताको अवस्था सहज बनाउने कार्यमा सहयोग पुग्न सक्छ । 
 
मौद्रिक नीति समीक्षामार्फत सेयर बजारमा प्रत्यक्ष असर पर्ने कुनै पनि व्यवस्थालाई चलाइएको छैन । बजारलाई नकारात्मक असर पर्ने काम समीक्षाले गरेको छैन । यस्तै, यसअघि कायम ४ र १२ करोडको सीमाका सम्बन्धमा पनि समीक्षामा केही पनि उल्लेख गरिएको छैन । साथै, बजारमा सेयर धितो कर्जाको सीमा ७०% बाट घटाउने हल्ला चलाइए पनि समीक्षामार्फत त्यस्तो केही पनि गरिएको छैन । 
 
समीक्षाले एउटा कुरा के देखाएको छ भने केन्द्रीय बैंक आफ्नो नीतिमा अडिग रहन खोजेको देखिन्छ । यो नीति कार्यान्वयनमा आएको ४ महिनामात्र पूरा भएकाले पनि खासै केही परिवर्तन गर्न नचाहेको देखिन्छ । छिटोछिटो नीतिहरु परिवर्तन हुने भन्ने आलोचनाबाट भने यसपटक केन्द्रीय बैंक जोगिन खोजेको देखिन्छ । यसले नीतिगत अस्थिरतालाई भने केहीहदसम्म रोकेको छ । 
 

Post Your Comment