नयाँ दिल्ली : भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीब्र वृद्धि भएको छ । शनिबार एकै दिनमा थप २७ सय ९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको आधिकारिक तथ्यांकले देखाएको छ । विगत केही दिनयता मृत्यु हुनेको संख्या दैनिक ४०० को हाराहारीमा सीमित भइसकेको थियो । तर शनिबार २७ सय ९६ जनाको मृत्यु भएको तथ्याक सार्वजनिक भएको छ ।
तर यो संख्यामा बिहारमा कोरोना संक्रमणबाट ज्यान गुमाएका केही पुराना संख्यालाई पनि मिलाइएकाले एक्कासी धेरै देखिएको हो । यस कारण पनि तथ्यांक ह्वात्तै बढेको हो । यद्यपि, शनिबार एकै दिनमा केरलामा कोरोनाका कारण २६३ जनाको ज्यान गएको छ ।
यो तथ्यांकले भने भारत सरकारलाई फेरि एकपटक थप सर्तक हुन सन्देश दिएको छ । आइतबार बिहानसम्म भारतमा कोरोनाबाट मृत्यु हुने कुल संख्या ४ लाख ७३ हजार ३२६ जना पुगेको छ । अहिले पनि ९९ हजार १५५ सक्रिय संक्रमित रहेका छन् ।
रासस–एएनआई