Market Closed

भारतमा कोरोना संक्रमण द्रुत गतिमा फैलिंदै, २४ घन्टामा करिब ९१ हजार जना संक्रमित

06 Jan,2022
  • indian_covid_1_6_2022_1_16_24.jpg
 
नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमणले फेरि उग्ररुप लिन थालेको छ । केही दिनयता प्रत्येक दिनजसो संक्रमणदरमा तेजी आइरहेको छ । संक्रमण तीब्रदरमा बढ्न थालेपछि नयाँ दिल्लीमा सातामा २ निषेधाज्ञासमेत जारी गरिएको छ । ५०% कर्मचारीलाई घरबाटै काम गर्नसमेत निर्देशन दिइएको छ । 
 
यसैक्रममा गत २४ घण्टामा भारतमा कोरोना भाइरसबाट थप (करिब ९१ हजार जना) ९० हजार ९२८ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ३ करोड ४९ लाख भन्दा बढी संक्रमित भएका छन् ।
 
सोही अवधिमा थप ३२५ जनाको कोरोनाकै कारण ज्यान गएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८७ हजार ६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या २ लाख ८५ हजार ४१० जना रहेको छ ।

गएको २४ घण्टामा भारतमा १९ हजार २०६ जना कोरोनाबाट मुक्त भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७.८१ प्रतिशत रहेको छ । यहाँ हालसम्म १ अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको छ ।
 
रासस–एएनआई

Post Your Comment