Market Closed

वाणिज्य बैंकहरुका ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण, १४२ शाखा बन्द

25 Jan,2022
  • 1800x1200_coronavirus_1_1_9_2022_5_06_30.jpg
नेपाली पैसा
 
काठमाडौं : कोभिड–१९ को तेस्रो लहर फैलिएसँगै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा पनि कोभिड संक्रमण तिब्र गतिमा बढेको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर संघकाअनुसार आइतबारसम्म वाणिज्य बैंकहरुका कुल ६ हजार २१३ जना कर्मचारी कोरोनाबाट संक्रमित भएका छन् । यो संख्या सोमबार अझै बढेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । यसरी कर्मचारीमा कारोना संक्रमण बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले धमाधम सूचना निकालेर धेरै शाखा कार्यालयहरु बन्द गरेका छन् ।
 
संघको तथ्यांकअनुसार हालसम्म मुलुकभरका १४२ वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द भएका छन् । यो संख्या बढ्दो क्रममा रहेको पनि शर्माले जानकारी गराएका छन् । यी शाखाहरु अनिश्चितकालका लागि बन्द गरिएको हो । कर्मचारी संक्रमणमुक्त भएपछि सेवा सुरु हुने बैंकहरुले जनाएका छन् । बैंकका कर्मचारीहरूमा कोभिड संक्रमण बढेसँगै प्रभावित शाखाहरू सूचना टाँसेर बन्द गर्ने र नजिकैको अर्को शाखामा ग्राहकहरूलाई पठाउने गरिएको बैंकरहरु बताउँछन् ।
 
बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा विभिन्न वाणिज्य बैंकका ९४ वटा शाखा कार्यालय बन्द भएका छन् । कुल संक्रमितमध्ये ३ हजार २६९ जना वाग्मती प्रदेशभित्र कार्यरत कर्मचारी रहेको संघले जनाएको छ । सबैभन्दा धेरै शाखा बन्द हुनेमा एनआइसी एसिया बैंक रहेको छ । त्यस्तै, नबिल बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंकलगायतका बैंकहरुको पनि धेरै शाखा बन्द रहेका छन् । 
 
वाणिज्य बैंकका मात्रै होइनन् विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्तका पनि अधिकांश कर्मचारीहरुलाई कोरोना संक्रमण भएको सरोकारवालले जनाएका छन् । कतिपय बैंकहरुले खुला भएका शाखाबाट पनि पूर्ण समय सेवा दिन सकिरहेका छैनन् । कर्मचारी अभावका कारण उनीहरुले सेवा समय घटाएका छन् ।
 
राष्ट्र बैंकले बैंकहरूलाई तजबिजमा व्यवस्थापन गर्न भनेको छ । राष्ट्र बैंकले २६ पुसमै परिपत्र जारी गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा प्रवाहमा प्रत्यक्ष संलग्न हुने कर्मचारी र सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरणका लागि उपाय अपनाउनेलगायतको व्यवस्था गर्न भनेको छ । 
 
त्यस्तै, भिडभाड नहुने र भौतिक दूरी कायम हुने गरी कार्यालय सञ्चालन गर्ने, एटीएमहरूको ढोका खुला राख्ने तथा स्यानिटाइजरको व्यवस्था गर्ने, बैंकहरूबाट गरिने कार्यक्रमहरू भर्चुअल गर्न भनिएको छ । एटीएमहरूमा भने अझै पनि पर्याप्त सुरक्षाका उपायहरू भने अवलम्बन गर्ने नगरिएको पाइएको छ । एटीएमहरूमा पर्याप्त स्यानिटाइजरको व्यवस्था गरिएको देखिँदैन ।
 

Post Your Comment