Market Closed

सेयर लगानीकर्ताको वास्तविक ‘कस्ट’ अध्ययन गर्दै धितोपत्र बोर्ड, घट्ला त ब्रोकर कमिसन ?

04 May,2022
  • comission_new_5_4_2022_8_11_57.jpg
इशारा कोइराला
 
काठमाडौं : नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्दा लगानीकर्ताको वास्तविक लागत (कस्ट) को समग्र पक्षको अध्ययन गर्ने भएको छ । बोर्डले प्राथमिक बजार (आइपीओ) मा आवेदन दिँदादेखि दोस्रो बजारमा कारोबार गर्दासम्म समग्र कति खर्च लाग्छ भनेर अध्ययन गर्न लागेको हो । यसका लागि धितोपत्र बोर्डले एक अध्ययन समिति गठन गरेको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार उप कार्यकारी निर्देशक कृष्णराज पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको हो ।

उक्त समितिले धितोपत्र बजारमा अहिले लगाइएको शुल्कहरु वैज्ञानिक, उचित र समय सापेक्ष छ कि छैन भनेर अध्ययन गर्नेछ । अध्ययनमा ब्रोकर कमिसन, नेप्से कमिसन, डीपी शुल्कसहित बोर्डले लिने शुल्कहरुका बारेमा पनि एकुमष्ठ अध्ययन हुनेछ । सोहीआधारमा लगानीकर्ताको वास्तविक कस्ट पत्ता लाग्नेछ । ‘अहिले पुँजी बजारमा लिदैं आएका शुल्कहरु समय सापेक्ष छ कि छैन भनेर अध्ययन हुनेछ ।

यदि समय सापेक्ष देखिएन भने यसलाई कसरी समय अनुकूल, उचित र लगानीकर्तालाई मार नपर्ने किसिमको बनाउने भन्ने सुझाव तथा निष्कर्ष पनि अध्ययनले निकाल्ने छ’ ब्रोर्ड स्रोतले बतायो । अहिलेसम्म लगानीकर्ताले तिरेको कमिसनबाट ब्रोकरलाई २०% र त्यहीँबाट सीडीएससीलाई पनि कमिसन जाने गरेको छ । यस्तै, लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५% कमिसन तिर्ने गरेका छन् ।

उक्त शुल्क धेरै भयो भनेर लगानीकर्ताले तीब्र विरोध गर्दै आएका छन् । अहिले अनलाइन कारोबार प्रणाली छ । ब्रोकरको लागत घटेको छ । लगानीकर्ताको संख्या बढेको बढ्यै छ । यस्तो चरम निराशाका बेलामा पनि दैनिक न्यूनतम १ अर्ब रुपैयाँको सेयर कारोबार भएकै छ । बुलिस बजारमा दैनिक करिब २२ अर्ब रुपैयाँ सम्मको कारोबार भएको रेकर्ड छ ।  यसआधारमा ब्रोकर कमिसन घटाउने र लगानीकर्ताको संख्या र दायरा घटाउनुपर्ने लगानीकर्ताहरु माग गर्दै आएका छन् ।

कमिसन घटाउँदा ब्रोकरतर्फको मात्र नभई, धितोपत्र बोर्ड, नेप्से, सीडीएसतिरको समेत घटाउनुपर्ने ब्रोकर तथा लगानीकर्ताहरुको भनाई रहेको छ । सेयर बजार घटेर आम लगानीकर्ता चरम निराशामा गएको बेला ब्रोकर कमिसन घटाउने निर्णय भएमा त्यसले सेयर बजार माथि लैजान अक्सिजनको काम गर्ने लगानीकर्ताहरुले बताइरहेका छन् । 
 
साँच्चिकै घट्ला त ब्रोकर कमिसन ?
 
समितिले अध्ययन प्रतिवेदन र त्यसमाथिको छलफलपछि मात्रै ब्रोकर कमिसन घटाउने वा नघटाउने भन्ने बारेमा यकिन निर्णय हुने धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बताए । उनले भने, ‘पुँजी बजारमा लाग्दै आएको शुल्कको बारेमा बोर्डले अध्ययन गर्दैछ । अध्ययन प्रतिवेदन आएपछि मात्रै ब्रोकर कमिसन घटाउने वा नघटाउने भन्ने बारेमा निर्णय हुन्छ ।’ अध्ययनले अहिलेको ब्रोकर कमिसनलाई घटाउनुपर्छ भन्ने निष्कर्ष निकाल्यो भनेमात्रै यसमा निर्णय हुने उनले बताए । 
 
 हाल सेयर खरिदबिक्री गर्दा लगानीकर्ताले कारोबार रकमको ०.२७% देखि ०.४% रकम शुल्क (कमिसन) तिर्नुपर्छ  । संगठित संस्थाको सेयर कारोबारमा ब्रोकरले ५० हजारसम्मको कारोबारमा ०.४०%, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७% कमिसन तिर्नुपर्छ । यस्तै, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४%, २० लाखदेखि १

करोडसम्मको कारोबारमा ०.३०% र १ करोड रुपैयाँभन्दा माथिका सबै कारोबारमा ०.२७% शुल्क लाग्छ । लगानीकर्ताले यो कमिसन महँगो भनिरहेका छन् । सोही आधारमा धितोपत्र बोर्डले अध्ययन थालेको हो । स्रोतले भन्यो, ‘सरसर्ती हेर्दा अहिले ब्रोकर कमिसन धेरै भएको जस्तो लागेरै बोर्डले थप अध्ययन गर्न लागेको हो । तथापि, अध्ययनको निष्कर्षपछि मात्रै ब्रोकर कमिसन घट्ने वा नघट्ने भनेर आधिकारिक निर्धारण हुनेछ ।’ 
 

Post Your Comment