नेपाली पैसा
काठमाडौं : सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिमा धेरै बैंकहरुको खराब कर्जा (नन पर्फमिङ लोन वा एनपीएल) घटेको छ । सामान्यतयः बैंकहरुको खराब कर्जा जति न्यून भयो त्यति नै राम्रो मानिन्छ । साथै, लगानीकर्ताले पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्नुअघि खराब कर्जा अनुपातलाई विशेष ध्यान दिन अत्यन्तै महत्वपूर्ण हुन्छ ।खराब कर्जा न्यून भएमा वा भएको यस्ता कर्जा असुली गर्न सकेमा कम्पनीहरुको वित्तीय विवरणमा सकारात्मक प्रभाव देखिन जान्छ ।
चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुको खराब कर्जा अनुपात न्यूनतम ०.१४% देखि अधिकतम ३.०७% सम्म देखिएको छ । यसअवधिमा सबैभन्दा थोरै खराब कर्जा नेपाल एसबीआई बैंकको रहेको छ । यता, सबैभन्दा धेरै खराब कर्जा पूर्णः सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । यसको खराब कर्जा अनुपात ३.०७% रहेको छ । यो बाहेक अरु बैंकहरुको खराब कर्जा अनुपात ३% भन्दा कम छ ।
११ बैंकको खराब कर्जा अनुपात १% भन्दा कम छ । उच्च खराब कर्जाले बैंकको वित्तीय स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले लगानीकर्ताका लागि पनि यो सूचकको अध्ययन तथा जानकारी हुनु पनि महत्वपूर्ण पक्ष हुन्छ । कुनै पनि ऋणीले निश्चित समयसम्म आफ्नो ऋणको सावाँ तथा ब्याज भुक्तानी गरेको छैन भने त्यस्तो ऋण वा कर्जालाई खराब कर्जा भनिन्छ ।

के हो खराब कर्जा ?
बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि तोकिएको अवधिमा सावाँ तथा ब्याज भुक्तानी गर्ने शर्तमा ऋण्ीहरुलाई कर्जा दिएका हुन्छन् । यदि, तोकिएको समयमा ऋणको सावाँ वा ब्याज भुक्तानी पाउन सकेनन् भने बैंकहरुले त्यस्तो कर्जालाई खराब कर्जामा राख्ने गर्दछन् । बैंकिङ क्षेत्रमा सामान्यतयः ऋणीले साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने मितिबाट ९० दिन बितेको खण्डमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको पनि सोही मान्यता रहेको छ । नेपालमा पनि केन्द्रीय बैंकले कर्जा ९० दिन भन्दा बढी अवधिले भाका नाघेमा खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यद्दपि, खराब कर्जाका लागि सर्वमान्य कुनै मानक तथा व्याख्या भने रहेको छैन ।
वित्तीय संगठन तथा केन्द्रीय बैंकहरुले अवस्था हेरी कस्तो कर्जालाई खराब मान्ने भनेर निर्धारण गरेका हुन्छन् । यसमा केन्द्रीय बैंकले विभिन्न नियम तथा व्यवस्थाहरु बनाएको छ । सोही अनुसार बैंकहरुले खराब कर्जा गणना र प्रोभिजनको व्यवस्था गरेका हुन्छन् । ५% वा सो भन्दा माथि खराब कर्जा भएका वित्तीय संस्थाले लाभांश वितरण गर्न नपाउनेसम्मका व्यवस्था गरिएको छ ।