Market Closed

एक महिनामा ३ अर्ब १७ करोडले घट्यो सेयर कर्जा : केन्द्रीय बैंकको नीतिले ठूला लगानीकर्ता प्रभावित

10 Jun,2022
  • margin-financing_6_10_2022_7_56_42.jpg
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्दै आएको सेयर कर्जा दिनप्रतिदिन घट्दै गएको छ । विशेषतः नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेदेखि सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट लगानीकर्ताले अधिकतम १२ करोड रुपैयाँ मात्र सेयर कर्जा लिन पाउने सीमा तोकिदिएको छ । साथै, एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ मात्र सेयर कर्जा लिन पाइन्छ ।

लगानीकर्तालाई प्रत्यक्षरुपमा कस्ने यस नीतिका कारण सेयर धितो कर्जा प्रवाह महिनैपच्छे घट्दै गएको हो । ४–१२ को नीति पुनरावलोकन गर्न ठूला लगानीकर्ताहरुले माग गर्दै आएका छन् । तर केन्द्रीय बैंकले अहिलेसम्म यसमा सुनुवाई गरेको छैन । अहिले सेयर बजारको सुधार र विस्तारको माग राख्दै सेयर बजारका लगानीकर्ता आन्दोलित बनेका छन् ।

उनीहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ल्याइएको ४–१२ को सीमा हटाउनुपर्ने माग राख्दै आएका छन् । ४–१२ को नीति नहटाए सेयर बजार समस्यामा पर्ने भन्दै उनीहरुले अगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त नीति पुनरावलोकन गर्न माग राखेका छन् । यो सहित अरु महत्वपूर्ण मागहरु पूरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले बताएका छन् ।
 
केन्द्रीय बैंकको तथ्यांक अनुसार एक महिनामा सेयर धितो कर्जा ३ अर्ब १७ करोड रुपैयाँले घटेको छ । वैशाख मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले ९१ अर्ब ४१ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । जबकी चैत महिनामा बैंक तथा वित्तीय संस्थाले ९४ अर्ब ५९ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । गत असार मसान्तको तुलनामा वैशाखमा सेयर कर्जा प्रवाह १४% ले घटेको हो ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । केन्द्रीय बैंकको तथ्यांक अनुसार १ करोडभन्दा माथिको सेयर धितो कर्जा धेरै घटेको छ भने ५० लाखभन्दा माथिको कर्जा पनि केही प्रभावित भएको छ । ५० लाख रुपैयाँभन्दा कमको सेयर धितो कर्जा गत आर्थिक वर्षको तुलनामा अझै बढेको छ ।

असार मसान्तमा १ करोड रुपैयाँभन्दा माथि ७३ अर्ब ५३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएकोमा वैशाख मसान्तसम्म आइपुग्दा २५.१% ले घटेर ५५ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ । ४–१२ को नीतिले कर्जा तिर्नैपर्ने बाध्यता रहेको छ । १२ करोड रुपैयाँभन्दा बढी कर्जा लिएकाहरुको नवीकरण हुँदैन । सोही कारण सेयर धितो कर्जा प्रत्येक महिना घट्दोक्रममा रहेको हो । 

Post Your Comment