Market Closed

केन्द्रीय बैंकको कडाईपछि रियल स्टेट क्षेत्रमा कर्जाको के छ अवस्था ? सेयरमा जस्तै हो त ?

21 Jun,2022
  • real_srtae_6_21_2022_8_47_01.png
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी (तरलता) को अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह नै लगभग ठप्प बनाएको भनिँदै आएको छ । तर, केन्द्रीय बैंकको तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाले घर–जग्गामा कर्जा लगानी झनै बढाएको देखिएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल ४७ खर्ब २४ अर्ब ८८ करोड कर्जा प्रवाह भएको छ । यसमध्ये ६६.८६% कर्जा घर–जग्गाको धितोमा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकिङ प्रणालीमा तरलता संकट देखिन थालेको थियो भने ब्याजदर पनि दोहोरो अंकमा पुगेको छ । तरलता अभाव र ब्याजदर वृद्धिकै बाबजुत पनि घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको १० महिनामा घरजग्गाको धितोमा ३१ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६% ले बढी हो । 
 
अघिल्लो आर्थिक वर्ष ०७७–७८ को १० महिनामा घर–जग्गाको धितोमा २६ खर्ब ७५ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । नेपालमा अधिकांश कर्जा सम्पत्तिको धितोमा प्रवाह हुने गरेको छ । कुल कर्जाको ८७.८% अर्थात् ४१ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ सम्पत्तिकै धितोमा प्रवाह भएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी घर–जग्गाकै धितोमा कर्जा प्रवाह हुने गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । सम्पत्तिमा प्रवाह हुने कर्जामध्ये ७६% घर–जग्गाकै धितोमा प्रवाह हुने गरेको देखिन्छ । 
 
अहिलेसम्म बैंक तथा वित्तीय संस्थाको घर–जग्गामा कर्जा लगानी बढेर ५ खर्ब ५८ अर्ब १९ करोड रुपैयाँमा पुगेको छ । जसमा व्यक्तिगत आवासीय कर्जा ३ खर्ब ३८ अर्ब ९ करोड र रियलस्टेट कर्जा २ खर्ब २० अर्ब १० करोड रुपैयाँ रहेको छ । १० महिनामा रेसिडेन्सियल रियलस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जाबाहेक) २० अर्ब ९ करोड, कमर्सियल कम्पलेक्स एन्ड रेसिडेन्सियल अपार्टमेन्ट निर्माण कर्जा ५ अर्ब ९९ करोड, जग्गा खरिद तथा प्लटिङ कर्जा ८ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।
 
सरकारले घर जग्गामा लगानी हुने रकमलाई अनुत्पादक भनेर यसमा कडाई गर्न खोजे पनि लगानी भने बढ्दै गएको छ । केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जालाई नियन्त्रण गर्नकै लागि चालु आर्थिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर–जग्गामा जाने कर्जाको जोखिमभार बढाएर १५०% कायम गरेको छ । यसअघि यो क्षेत्रमा प्रवाहित हुने कर्जाको जोखिमभार १००% मात्रै थियो । तथापि, यसको प्रभाव घर–जग्गा कर्जामा खासै देखिएको छैन । तर केही असर सेयर धितो कर्जामा भने परेको छ । 
 
पछिल्लो समय बैंकहरुले तरलता संकटको सामाना गरिरहँदा कर्जा प्रवाहमा चाप परेको छ । तर, अरु क्षेत्रमा प्रवाह हुने कर्जामा संकुचन आउँदा पनि घजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा खासै प्रभाव देखिएको छैन् । पछिल्लो एक सातायता भने बैंक तथा वित्तीय संस्थाबाट सबैभन्दा बढी प्रवाह हुने घर–जग्गा धितोको कर्जा प्रभावित छ । सरकारले ल्याएको नयाँ भूउपयोग नियमावलीले वर्गीकरण नगरिएको जग्गा कित्ताकाट तथा रोक्का नगरिने व्यवस्था गरेपछि त्यसको प्रभाव बैंकिङ कर्जासम्मै परेको थियो । 
 
तथापि, सर्वोच्च अदालतले वर्गीकरण नभएको जग्गा धितो राख्न नपाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै फेरि फुकुवा भएको छ । सर्वोच्चले असार ७ गते उक्त फैसला गरेको हो । योसँगै घर–जग्गामा कर्जा लगानी पुरानै गतिमा अगाडि बढ्न सक्ने कतिपयको भनाई रहेको छ । 

Post Your Comment