Market Closed

‘बियर मार्केट’मा के–के गर्ने अनि के नगर्ने ? अन्तर्राष्ट्रिय विश्लेषकहरु के भन्छन् ?

23 Jun,2022
  • bear_mrkt_6_23_2022_8_34_23.jpg
नेपाली पैसा
 
काठमाडौं : पछिल्लो समय विश्वभरको सेयर बजारमा गिरावट आएको छ । अधिकांश देशहरुको सेयर बजार सूचक ‘बियर मार्केट जोन’ मा प्रवेश गरिसकेको छ । अमेरिकाको प्रमुख सेयर बजार सूचकमध्येको एक ‘एस एन्ड पी ५००’ मा ‘बियर मार्केट’ को पुष्टि भइसकेको छ । छिमेकी देश भारतको बजार पनि बियर मार्केट नजिक आइसकेको छ । सेयर बजारका जानकार विश्लेषकहरुको साझा परिभाषाका आधारमा हेर्दा नेपालको सेयर बजार सूचक (नेप्से) बियर मार्केटको तहभन्दा निकै तल झरिसकेको देखिन्छ ।

अर्थात् यो लेभललाई बियर मार्केटको पनि बटम भन्न सकिन्छ । सेयर भाउमा लामो समयसम्म निरन्तर गिरावट आउनुलाई ‘बियर मार्केट’ भन्ने गरिएको छ । सेयर बजारका जानकारहरुको साझा मान्यता अनुसार उच्चतम विन्दुबाट २०% वा सो भन्दा बढीको गिरावट आएपछि बजारलाई बियरिस मानिने गरेको छ ।

यसअर्थमा हेर्दा, नेपालको सेयर बजार बियर मार्केट बनेको लामो समय भइसकेको छ । नेप्से सूचक गत वर्ष इतिहासकै उच्च ३१९९.०३ विन्दुमा पुगेको थियो । त्यस विन्दुबाट घट्न सुरु गरेको नेप्से सूचक बिहीबार १८४८.२८ विन्दुमा बन्द भएको छ । जुन उच्चतम विन्दुबाट ४२.२२% को गिरावट हो । 
 
बियर मार्केटमा के गर्ने ?
 
बियर मार्केट र आर्थिक मन्दी सँगसँगै जाने गरेका छन् । समग्र अर्थतन्त्रमा संकुचन आउँदा पनि सेयर बजार नकारात्मक हुने गर्दछ । पछिल्लो समय युक्रेन युद्ध, कोरोना महामारी र चर्को मूल्यवृद्धि यसका प्रमुख कारणका रुपमा देखा परेका छन् । कोलम्बिया विश्वविद्यालयस्थित अर्थशास्त्रकी प्राध्यापक लरेन भेल्डक्याम्पका अनुसार बियरिस बजारमा अत्यावश्यकबाहेक भरसक सेयर बेच्नु हुँदैन ।

सीएनबीसीसँगको वार्तामा भेल्डक्याम्प भन्छिन्, ‘दीर्घकालीन सोच बनाएर लगानी गर्नु भएको छ भने त्यसमै अडिग रहनुपर्छ’ । अमेरिकास्थित जीवाइएल फाइनान्सियलका संस्थापक तथा लगानी सल्लाहकार जेराल्ड गोल्डबर्गका अनुसार लगानीकर्तासँग आफ्नो लक्ष्य, उद्देश्य, समयसीमा र जोखिम वहन गर्नसक्ने क्षमतासँग तालमेल हुनेगरी सोच विचारयुक्त लगानी योजना छ भने सोही अनुसार अघि बढ्नु बुद्धिमानी हुन्छ ।

आम मानिसका लागि बियर मार्केट निराषाजनक हुने भए पनि जानकार लगानीकर्ताहरुको ध्यान भने दीर्घकालीन प्रतिफलमा हुने गरेको गोल्डबर्ग बताउँछन् । साना तथा खुद्रा लगानीकर्ताहरुले सेयर बेचेर बियर मार्केटबाट बच्न खोज्नु मूर्खता भएको उनको भनाई छ । यता, नर्थवेस्टर्न म्युचुअल वेल्थ म्यानेजमेन्टका पोर्टफोलियो व्यवस्थापक म्याट स्टकीका अनुसार बियर मार्केट ऐतिहासिक रुपमै दीर्घकालीन लगानीकर्ताहरुका लागि सम्पति निर्माण गर्ने उचित अवसर हो ।

घटेको बजारमा लगानी गर्नेहरुले १० वर्ष नपुग्दै उच्च प्रतिफल पाउन सक्ने सम्भावना बढी रहेको स्टकी बताउँछन् । यद्दपि, आफूसँग भएको सबै पैसा बजारमा लगाउन भने नहुने उनको भनाई छ । आफ्नो नगद बचतलाई पनि ध्यान दिँदै क्रमैसँग पोर्टफोलियो निर्माण गर्नुपर्ने उनको सुझाव रहेको छ ।
 
बियर मार्केट कति लामो समयसम्म रहन्छ ?
 
त्यसो त बियर मार्केट यति नै समयसम्म रहन्छ भन्ने कुनै वैज्ञानिक सुत्र छैन । तर पनि बजार अनुसन्धानकर्ताहरुका अनुसार बियर मार्केट औसतमा १ वर्षसम्म रहने गरेको छ । २०% को गिरावटपछि मात्र बियर मार्केट भन्ने गरिएको छ ।

यसैगरी, बियर मार्केटको न्यूनतम विन्दु (बटम) बाट नयाँ अलटाइम हाई विन्दु बनाउन ३८ महिनासम्म लाग्ने गरेको अध्ययन स्टकीले बताएका छन् । तसर्थ, बियर मार्केटमा धैर्यता राख्नसक्दा लगानीकर्ताले दीर्घकालमा राम्रो प्रतिफल पाउने सम्भावना त्यति नै धेरै रहने गरेको छ । 
 
–एजेन्सीहरुको सहयोगमा
 

Post Your Comment