Market Closed

एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउन के–के हुँदैछ तयारी, अब कहिलेबाट सुरु होला ?

26 Jun,2022
  • cap_new_6_26_2022_8_20_39.png
इशारा कोइराला 
 
काठमाडौं : साना तथा मझौला उद्योग (एसएमई) हरुको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालनको तयारीमा नेपाल धितोपत्र बोर्ड लागेको छ । बोर्डका अध्यक्ष रमेश हमालले आगामी भदौ महिना भित्र बोर्डले एसएमई कम्पनीको छुट्टै प्लेटफर्म बनाएर कारोबार सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । एसएमई कम्पनीको छुट्टै प्लेटफर्म सञ्चालन गर्नका लागि अहिले ९०% काम सकिएको उनले जानकारी दिए । यसका लागि कार्यविधि तयार भइसकेको उनको भनाई छ ।

अध्यक्ष हमालले भने, ‘अगामी भदैदेखि एसएमई कम्पनीको छुट्टै प्लेटफर्म बनाएर कारोबार सञ्चालन गर्ने तयारी बोर्डको छ । यसका लागि कार्यविधि तयार भइसकेको छ भने केही प्रविधिक काममात्र बाँकी छ ।’  प्रविधिक कुराहरु मिलाउन तथा केही अध्ययनका लागि नेप्सेको प्राविधिक टिम भारत गएको उनले जानकारी दिए । ‘अहिले कार्यविधि र कानुनी कामहरु सकिएको छ । तर, प्राविधिक पक्षको कामहरु बाँकी रहेको छ । यो पनि अब छिट्टै सकिन्छ’ उनले भने ।

नेप्सेमा सूचीकरण भएका तथा आगामी दिनमा सूचीकरण हुने साना तथा मझौला आकारका कम्पनीहरुका लागि उक्त कम्पनीहरुको चुक्ता पुँजी र बजार पुँजीकरणको आधारमा नेप्सेको छुट्टै कक्षमा सूचीकरण तथा कारोबार हुने गरी एसएमई प्लेटफर्मको व्यवस्था हुनेछ । यो प्रावधान कार्यान्वयनमा ल्याउन बोर्डले छिमेकी मुलुक भारतमा भएको अभ्यासलाई पनि अनुसरण गर्न लागेको हो । 
 
ठूला तथा धेरै सेयर भएका कम्पनीहरुको मुख्य इन्डेक्स बनाइने र साना तथा मझौला कम्पनीका थोरै आपूर्ति भएका सेयरलाई सेकेन्डरी इन्डेक्स वा एसएमई प्लेटफर्ममार्फत इन्डेक्स गणना गरिने बोर्डको तयारी छ । अहिले ‘स्मल तथा मिड क्याप’ भएका कम्पनीहरुको सेयर मूल्य मिलेमतोमा बढाउने प्रवृत्ति हावी रहेको भन्दै यसका बारेमा विभिन्न बहसहरु भइरहेका छन् । यसलाई सम्बोधन गर्दै धितोपत्र बोर्डले लार्ज क्याप एवं स्मल एन्ड मिड क्याप भएका कम्पनीहरुलाई छुट्याउने योजना बनाएको हो ।

अहिले दोस्रो बजारमा ३३४ कम्पनीहरु सूचीकृत रहेका छन् । यसमा अरबौं रुपैयाँ चुक्ता पुँजी हुने कम्पनी र निकै थोरै चुक्ता पुँजी हुने कम्पनीहरु पनि एउटैमा समावेश रहेका छन् । थोरै पुँजी भएका कम्पनीहरुमा बढी चलखेल हुने गरेकाले त्यस्तालाई छुट्याउन लागिएको धितोपत्र बोर्डको भनाई छ । यीमध्ये केही कम्पनीका सञ्चालकबाटै ‘इन्साइडर ट्रेडिङ’ भएको पाइएको समेत बोर्ड स्रोतको दाबी छ ।

थोरै चुक्ता पुँजी भएका कम्पनीलाई सेयर किनबेचका लागि अलग्गै फ्लोर बनाएपछि यसमा केही नियन्त्रण हुने बोर्डको अपेक्षा रहेको छ । छिमेकी मुलुक भारतामा पनि बम्बई स्टक एक्सचेन्ज (बीएससी)ले स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एसएमई) प्लेटफर्म सञ्चालनमा ल्याएको छ । सन् २०१२ देखि बीएससीले उक्त प्लेटफर्म सञ्चालनामा ल्याएको हो ।

तुलनात्मक रुपमा कम चुक्ता पुँजी भएका कम्पनीहरुमा सेयर आपूर्ति कम हुने भएकाले प्राइस बबल गरिने र यसबाट जोखिम पनि निकै बढी हुने गरेकाले पनि यसलाई ठूला र विकसित मुलुकमा पनि यसलाई अलग्याइने अभ्यास रहेको छ । अहिले यही अभ्यास नेपालमा पनि लागू गर्ने तयारी बोर्डले गरेको हो ।
 

Post Your Comment