Market Closed

एक ब्रोकर, जसले १० सेकेन्डमै कमाए २ करोड २० लाख डलर, यसरी कमाउन के–के गरे होला ?

29 Jun,2022
  • wolf_1_6_29_2022_8_56_42.jpg
निराजन सापकोटा
 
काठमाडौं : सामान्यतयः स्टक ब्रोकरहरुले लगानीकर्ताहरूका लागि सेयर तथा अन्य धितोपत्रहरू किन्ने र बेच्ने गर्छन् । तिनीहरूले बजारमा सेयर तथा धितोपत्रहरूको मूल्यांकन गरी आफ्ना ग्राहकलाई खरिदबिक्रीका लागि सिफारिस पनि गर्ने गर्दछन् । साथै, मर्जिन सम्बन्धी सुविधा, डिम्याट खाता खोलिदिने लगायतका काम ब्रोकरले गर्ने गरेका छन् । लगानीकर्ताका लागि सेयर किनबेच गर्ने माध्यम नै ब्रोकरहरु हुन ।

उनीहरुले सो सेवा सुविधा दिए वापत लगानीकर्ताले सेयर कारोबार गरेको रकमको केही प्रतिशत हिस्सा कमिसनका रुपमा लिने गरेका छन् । जुन उनीहरुको आम्दानीको मुख्य स्रोत हो । नेपालको सन्दर्भमा भने उक्त ब्रोकर कमिसन धेरै भएको भनेर लगानीकर्ताले विरोध पनि जनाउँदै आएका छन् । तर, यहाँ चर्चा गर्न लागिएको चाहिँ नेपालको ब्रोकर कमिसनको विषय नभएर एक अमेरिकी ब्रोकरको विषय हो ।
 
सन् १९९० को दशकमा अमेरिकाका एक ब्रोकरले करिब १० सेकेन्डमै २ करोड २० लाख डलर आम्दानी गरेका थिए । उनी हुन जोर्डन रस बेलफोर्ट । जोर्डन रस बेलफोर्टको जन्म ९ जुलाई १९६२ मा ब्रोँक्स, न्यू योर्क, अमेरिकामा भएको थियो । सामान्य परिवारमा जन्मेका उनको सुरुवाती दिनहरु निकै कष्टकर बित्यो । उनले सुरुवाती दिनहरुमा मासु तथा समुंद्री माछाहरुको व्यापार गरे । तर सोचे जस्तो आम्दानी गर्न नसकेपछि उनले सो व्यवसायलाई निरन्तरता दिएनन् र अन्तिममा बन्द गरे । 
 
त्यसपछि उनले साथीको सहयोग लिएर प्रशिक्षार्थीको रुपमा एक सेयर ब्रोकर कार्यालयमा काम गर्न थाले । तर उनको दुर्भाग्य, काम सुरु गरेको केही समय नबित्दै अमेरिकी सेयर बजार क्र्यास भयो । सन् १९८७ मा ‘ब्ल्याक मन्डे’को रुपमा चिनिने उक्त क्र्यासका कारण बेलफर्डले काम गर्ने ब्रोकर कम्पनीले पनि ठूलो नोक्सानी व्योहोर्नुपर्यो र उनीहरुले कर्मचारी कटौती गर्नुपर्ने अवस्था समेत आयो । जसअनुसार बेलफोर्टलाई पनि कामबाट निकालियो ।
 
कामबाट निकालिएपछि बेलफोर्टले आफ्नो एक वित्तीय फर्म र ओभर–द काउन्टर ब्रोकरेज हाउसको स्थापना गरे । उनले सेयर बजारका बारेमा कम ज्ञान भएका आम लगानीकर्तालाई पेनी स्टक बेच्न सुरु गरे । पेनी स्टक साना कम्पनीका सेयरहरु हुन, जसको वित्तीय विवरण सजिलै भेटिँदैन र सबैलाई त्यसको बारेमा थाहा पनि हुँदैन । उनले ती लगानीकर्ताहरुलाई सुरुसुरुमा ब्लु चिप कम्पनीहरु किन्न सुझाव दिए ।

उनीहरुको सजिलै विश्वास जितेपछि बेलफोर्टले पछि तिनीहरुलाई पेनी स्टक किन्न सल्लाह दिन थाले । जब ती पेनी स्टकको मूल्य बढ्दथ्यो तब बेलफोर्टले आफूसँग भएका सबै सेयर बेचिदिन्थे । उनको वित्तीय फर्मले उल्लेखनीय नाफा कमाउन थाल्यो । उनले सो फर्मबाट कम्पनीहरूको आइपीओ जारी गर्ने तथा कृत्रिमरुपमा पेनी स्टकको मूल्य बढाउन ‘पम्प एण्ड डम्प’ गर्ने गरेका थिए । तर उनको ‘पम्प एण्ड डम्प’ योजनाले लगानीकर्ताहरुलाई करिब २०० मिलियन डलरको नोक्सनी भएको थियो ।
 
यस व्यबसायबाट उनले भने करोडौं आम्दानी गर्न थाले । उनले दैनिक जीवनमा प्रयोग गर्ने वस्तु तथा सामानहरु निकै महँगा र विलासी थिए । आफ्ना कर्मचारीहलाई खुसी राख्न उनले समय समयमा ठूलो र भव्य पार्टी आयोजना गर्थे । उनले आफ्नो ब्याचलर पार्टीमा एकै रात २० लाख डलरसम्म खर्च गरेका थिए । एक दिन आफूले करिब १० सेकेन्डमा २२ मिलियन अर्थात, २ करोड २० लाख डलर आम्दानी गरेको उनले एक अन्तरवार्तामा बताएका थिए । 
 
बेलफोर्टले उक्त पैसा सावधानीपूर्वक योजना बनाएर कमाएको पनि उनले बातएका थिए । आफूले कमाएको पैसा स्विस बैंकमा जम्मा गर्थे । तर अन्तिममा उनको सबै गैरकानुनी कामको पर्दाफास भयो र उनलाई मुद्दा चलाइयो । साथसाथै, ११० मिलियन डलरको जरिवाना पनि तिराइयो । बेलफोर्टको कम्पनीलाई पनि बन्द गरियो । अमेरिकाको धितोपत्र नियामकले पनि उनलाई जीवनभर ब्रोकर बन्न नमिल्ने गरी प्रतिवन्ध लगायो ।
 
उनलाई ४ वर्षको जेल सजाय सुनाइएको भएता पनि सो ठगी धन्दामा साथ दिने साथीहरुको नाम बताएबापत उनी २२ महिनामै जेलबाट रिहा भएका थिए । बेलफोर्टले जेलबाट रिहा भएपछि सन् २००९ सम्म आफ्नो आम्दानीको ५०% पूर्व लगानीकर्ताहरूलाई तिर्नुपर्ने थियो ।
 
जेलबाट रिहा भएपछि उनले आफ्नै जीवनमा आधारित ‘द वुल्फ अफ वाल स्ट्रीट’ पुस्तक लेखेका थिए । ‘द वुल्फ अफ वाल स्ट्रीट’ को कथामा चलचित्र पनि बनेको छ । यस चलचित्रको कपिराइट बापत उनले ९ करोड ४० लाख ५० हजार डलर रोयल्टी बुझेका थिए ।

–एजेन्सीहरुको सहयोगमा 
 

Post Your Comment