नेप्से सूचकले अन्तिम प्रहरमा देखायो सकारात्मक संकेत

06 Jul,2022
  • bullssd_6_26_2022_3_16_44.jpg
नेपाली पैसा
 
काठमाडौं : बजार बन्द हुने बेलामा नेप्से सूचक हरियो भएको छ । दुई दिनमा ५५ अंकले घटेपछि बुधबार नेप्से सकारात्मक भएको हो । यस दिन नेप्से सूचक १३.३३ अंकले बढेर २०४३.९२ विन्दुमा बन्द भएको छ । यद्दपि, कारोबार रकम भने थप संकुचित बनेको छ । यस दिन २ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको मात्र सेयर कारोबार भएको छ । ट्रेडरहरुको सेलिङ प्रेसर सकिएपछि बुधबार बजार सकारात्मक बनेको हो । 
 
यसअघि छोटो समयमै बजार बेस्सरी बढेपछि नाफा बुक गर्नेहरु सक्रिय बन्दा नेप्से दबाबमा परेको थियो । यद्दपि, न्यूनतम विन्दुमा पुगेर फर्किएको नेप्से सूचकमा घटबढको चक्र जारी रहेपनि समग्रमा सकारात्मक नै देखिएको छ । अहिले लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा देखिएका छन् । विशेषगरी, लगानीकर्ताहरुले मौद्रिक नीति झन् चासोका साथ पर्खिएका छन् । यससँगै, चालु आर्थिक वर्ष सकिनै लागेकाले सूचीकृत कम्पनीहरुले वर्षभरीको कमाईलाई पनि लगानीकर्ताले विशेष ध्यान दिनुपर्ने भएको छ । 
 
मौद्रिक नीतिमा के–कस्ता विषयहरु समेटिन्छन् र सूचीकृत कम्पनीहरुको वित्तीय विवरण कस्तो आउँछ भन्ने कुराले पनि बजारको आगामी यात्रा निर्धारण गर्ने अनुमान गर्न सकिन्छ । अर्कोतर्फ, साउनदेखि सेयर कारोबारको चहलपहल पनि अलि बढी हुने अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा, मौद्रिक नीतिहरु पुँजी बजारमैत्री आउन सके नेप्से थप सकारात्मक बन्नसक्ने लगानीकर्ताको आशा रहेको छ । 


 
बुधबार ६२ लाख ६३ हजार कित्ता भन्दा बढी सेयर कारोबार भएको छ । लाइफ इन्सुरेन्स कर्पोरेसनको भाउ सर्किट लागेर बढेको छ । ११ करोड ७२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा गोर्खाज फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः लाइफ इन्सुरेन्स कर्पोरेसन र सिभिल बैंक परेका छन् ।

Post Your Comment