Market Closed

संसारको एउटा यस्तो स्टक एक्सचेन्ज, जहाँ हुन्छ अचम्मको सेयर कारोबार

25 Jul,2022
  • pirates_2_7_25_2022_9_29_30.jpg
निराजन सापकोटा 
 
काठमाडौं : पब्लिक कम्पनीको सेयर, डिबेन्चर तथा बन्डलगायत धितोपत्रहरुको कारोबारका स्टक एक्सचेञ्ज सञ्चालन हुँदै आएको छ । तर एक अफ्रिकी देशमा लुटपाटको कारोबारका लागि पनि एक्सचेन्जको स्थापना भएको छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । संसारकै गरिबहरुमध्येमा पर्ने अफ्रिकी देश सोमालियमा समुद्रका लुटेरा (पाइरेट्स) हरुको स्टक एक्सचेञ्ज रहेको छ । सोमालियाका समुद्री लुटेराहरु विश्वभर चर्चित छन् ।

यहाँका मानिसहरु चरम गरिबीमा छन् । आफ्नो दैनिक जीवन गुजार गर्न कतिपयले लुटपाटको सहारा लिने गरेका छन । तसर्थ, लुटपाटलाई पनि व्यवस्थित गर्न सोमालियामा पाइरेट्स स्टक एक्सचेन्ज स्थापना भएको छ । संसारको कुनै पनि स्टक एक्सचेञ्जमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लगानी रहेको हुन्छ । यस वापत सरकारले केही रकम करस्वरुपः लगानीकर्ताहरुबाट उठाउने गर्छ ।

एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले पनि लगानीकर्तालाई नाफा वापत प्रतिफल वितरण गर्ने गर्दछन् । तर सोमालियाको त्यस एक्चेञ्जमा लगानी वापतको प्रतिफल पाउन लुटपाट गर्नुपर्ने हुन्छ । संसारको पहिलो समुद्री लुटेराहरुको स्टक एक्सचेञ्ज ‘पाइरेट्स स्टक एक्चेञ्ज’ को स्थापन सन् २००९ मा भएको थियो । यसको स्थापना सोमालियाको राजधानी मोगादिसुदेखि २५० किलोमिटर पर हरारधेरे भन्ने ठाउँमा भएको हो । यो एक्सचेञ्ज २४ घन्टा नै खुला हुन्छ, तर यसमा हामीले सेयर खरिद वा बिक्री गरे जस्तो भने हुँदैन । तर लगानी जुटाउने तरिका भने उस्तै हुन्छ ।

त्यहाँका मानिसहरु अत्याधिक गरिबीको चपेटामा परेपछि उनिहरुले लुटपाटका लागि पुँजी जुटाउन स्टक एक्सचेञ्जको स्थापना गरे । गरिबी, चोरी, भोकमारीलगायतबाट बच्नका लागि मानिसहरु पाइरेट्स समूहमा सामेल हुन थाले । विभिन्न समाचार एजेन्सीका अनुसार त्यस एक्चेञ्जमा ७२ भन्दा बढी संस्थाहरु सूचीकृत रहेका छन् । जब समुद्रमा लुटपाट सफल हुन्छ, त्यस समूहले नाफा बापतको हिस्सा लगानीकर्तालाई वितरण गर्ने गर्छ ।
 
त्यहाँका मनिसहरुले डकैतीलाई सामुदायिक गतिविधि बनाएका छन् । सेयर सबैका लागि खुला रहेको हुन्छ, यसमा जो सुकैले सहभागिता जनाउन सक्छन् । लुटपाटका लागि प्रयोग हुने हतियार तथा उपयोगी सामग्री, रकम वा आफू स्वयंले लुटपाटमा सहाभागिता जनाए वापत सेयर पाउन सकिन्छ । पाइरेसीले यस गाउँका मानिसहरुको जीवनस्तर उकासिदिएको छ । कुनै समय सानो माछा मार्ने गाँउबाट अहिले लक्जरी कारहरुले भरिएको सहरमा परिवर्तन भएको छ ।


उनीहरु लुटपाटका लागि २४ सै घण्टा तैनाथ बसेका हुन्छन् । जब उनीहरुले ठूलो जहाज वा कुनै मूल्यवान चिज देख्छन्, तिनीहरु तुरुन्त स्टक एक्सचेञ्जमा आएर रकम जुटाउने गर्छन् । कसैले सूचना, रकम र हतियार वा आवश्यक उपकरण दिएमा यस लुटपाटबाट प्राप्त भएको आम्दानीमा उनीहरुले हिस्सा पाउने गर्छन् । उनीहरुले मानिसहरुलाई बन्धक बनाएर फिरौतीवापत लाखौ डलर उठाउने गरेका छन् ।
 
एउटा जहाज लुट्न करिब ३० हजार डलर आवश्यक पर्न जान्छ । त्यसैले पनि उनीहरुलाई जहाज लुट्नका लागि लगानीकर्ताहरुको आवश्यकता पर्छ । जहाज लुटेर फिरौतीवापत रकम प्राप्त गरेपछि लुटेराहरुले सो रकमबाट लगानीकर्तालाई न्यूनतमा ३०% हिस्सा दिने गर्छन् । १०% पोर्ट र डुङ्गाको भाडा तिर्नुपर्ने हुन्छ । बाँकी रकम लुट्ने समूहले एक आपसमा बाढ्ने गर्छन् । यस्ता घट्नाले गर्दा सिपिङ कम्पनीहरुलाई इन्सुरेन्ससहित करिब ५ अर्बदेखि ८.५ अर्ब डलरसम्मको नोक्सानी हुने गर्छ ।


Post Your Comment