Market Closed

गत आवमा ५ अर्बको आइपीओ बजारमा, अब यसरी देखिंदैछ नयाँ कम्पनीहरुको रौनकता

27 Jul,2022
  • iposs_7_27_2022_8_10_43.jpg
नेपाली पैसा
 
काठमाडौं  : गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँ भन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् । जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बिमा समूहको कम्पनीले आइपीओ जारी गरेको थियो । आइपीओ जारी गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युतले ९० करोड रुपैयाँ र साहस उर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन् । 
 
त्यस्तै, सानिमा लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आइपीओ मार्फत बिक्री गरेको थियो । कम्पनीहरुले पुँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री गर्दछन् । यसले उनीहरुलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ । आइपीओमा आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । लगानीकर्ताहरुको आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हँदै ५३ लाख नाघेको छ ।

 
आइपीओका कारण आम नागरिकहरुमा सेयर बजारप्रति रुचि झन् बढ्दै गएको हो । अनलाइनबाटै घरमै बसेर सेयर भर्न मिल्ने सुविधाका कारण लगानीकर्तालाई थप  सहज पनि भएको छ । जसले गर्दा गत वर्ष एउटै कम्पनीको आइपीओमा आवेदन दिनेको संख्या २६ लाखसम्म पुगेको थियो ।
 
चालु आर्थिक वर्षमा प्राथमिक बजारमा नयाँपन र कम्पनीहरुको समूहगत विविधता
 
चालु आर्थिक वर्षमा आइपीओ बजारमा केही नयाँपन देख्न पाइने सम्भावना बढेको छ । यो नयाँपन बुक विल्डिङ विधिको रुपमा आएको छ । अहिले धितोपत्र बोर्डमा २ वटा कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ बिक्री गर्नका लागि अनुमति माग्दै निवेदन दिएका छन् । जसमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स रहेका छन् । यी दुई कम्पनीले अनुमति पाएमा यस वर्ष नेपालको पुँजी बजार इतिहासमा पहिलो पटक बुक विल्डिङ विधिबाट आइपीओ जारी हुने देखिन्छ । 
 
नेपालको पुँजी बजार एकै किसिमका कम्पनीहरुले भरिएको गुनासो विगत लामो समयदेखि नै लगानीकर्ताहरुले सुन्दै आएका छन् । सूचीकृत आधा भन्दा बढी कम्पनीहरु बैंक तथा वित्तीय क्षेत्रका भएका कारण पनि त्यस्तो गुनासो बढेको थियो । आइपीओ जारी गर्ने कम्पनीहरुमा पनि जलविद्युत र लघुवित्तहरुको वर्चस्व रहने गरेको छ ।




यद्दपि, यस वर्ष भने समूहगत हिसाबमा कम्पनीहरुको पनि विविधिता देखिने भएको छ । हाल आइपीओ जारी गर्न अनुमति मागेर बसेका २९ वटा कम्पनीहरुमध्ये २ वटा उत्पादनमूलक समूह, ३ वटा अन्य समूह, २ वटा होटल समूह र एउटा लगानी समूहको कम्पनीसमेत रहेका छन् । जुन विगतमा भन्दा केही विविधिकृत देखिन्छ ।
 
विगत लामो समयदेखि नै रियल सेक्टरसहित विभिन्न क्षेत्रका कम्पनीलाई पुँजी बजारमा सूचीकृत हुन पहल भइरहेको थियो । यस वर्ष केही हदसम्म त्यो पूरा हुने देखिएको हो । आइपीओको भ्याल्यूएसनमा बुक विल्डिङ विधि लागू भएसँगै अन्य कम्पनीहरु पनि थपिँदै जाने आशा गर्न सकिन्छ । 
 

Post Your Comment