Market Closed

सकारात्मक खबर आउँदा पनि नेप्से नबढ्नुका यी हुन् केही कारण

05 Aug,2022
  • bull_n_besss_8_5_2022_1_15_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजारमा नाफा बुक भइसकेको र पुनः खरिदका लागि लगानीकर्ताले अझै मौका हेरिरहँदा नेप्से सूचकले शुक्रबार पनि दबाबकै सामना गरेको छ । यस दिन नेप्से सूचक ३४.८५ विन्दुले घटेर २१३१.३० विन्दुमा आएको छ । २ घन्टा खुलेको बजारमा २ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजारका लागि सकारात्मक खबरहरु आइरहँदा पनि बजार आफ्नो स्वभाविक करेक्सनको बाटोमा लागेकाले वृद्धि हुन नसकेको देखिन्छ ।

करिब ४ सय अंक बडेको बजारमा केही करेक्सन हुनु स्वभाविक र बजारको नियम नै रहेको विश्लेषकहरुको भनाई रहेको छ । अब करेक्सन चक्र पूरा भएपछि बजारले पुनः गति लिने विश्वास गरिएको छ । किन भने बैंकहरुले तत्कालका लागि ब्याजदर नबढाउने निर्णय गरेका छन् । यस निर्णयसँगै अब संस्थागत ब्याजदर थप सस्तो हुने भएको छ । 
 
 अहिले साधारण मुद्दति निक्षेपको अधिकतम ब्याजदर ११.०३ प्रतिशत रहेको छ। व्यक्तिगतभन्दा २ प्रतिशतले कम हुनुपर्ने भएपछि अब संस्थागतहरुले ९.०३ प्रतिशतमात्रै ब्याज पाउने भएका छन् । बैंकहरुले विगत ५ महिनादेखि व्यक्तिगततर्फ यही ब्याजदरलाई निरन्तरता दिइरहेका छन् । ब्याजदर नबढाउने निर्णय पुँजी बजारका लागि निकै सकारात्मक पक्ष हो । 
 
 केन्द्रीय बैंकले बैंक दर र नीतिगत दरहरु बढाउँदै ब्याज वृद्धि गर्न बैंकहरुलाई प्रेरित गरेको थियो । तथापि, बैंकहरु भने अहिलेको अवस्थामा ब्याजदर नबढाउने निर्णयमा पुगेका हुन् । यसबाट आमऋणी र सेयर लगानीकर्तालाई भने राहत मिल्नेछ । अब वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएमा ब्याजदर बढाउन नपर्ने अवस्था पनि आउन सक्ने कतिपयको बुझाई रहेको छ ।
 
पुँजी बजार सुधारका कार्यहरु अघि बढिरहेका छन् । नियामक निकायहरु पनि बजार सुधारका लागि सकारात्मक देखिएका छन् । यही बेला सूचीकृत कम्पनीहरुको नाफा पनि औसतमा राम्रोसँग वृद्धि भएको देखिन्छ । अब धमाधम लाभांशको सिजन सुरु हुँदैछ । यतिबेला सेयरधनी बन्नेहरुले निकै छिटो समयमा लाभांशको हकदार बन्न सक्नेछन् । 
 
यस्तै, आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचनको माहोल बन्दा त्यसले पैसाको आपूर्ति बढाउने अनुमान गरिएको छ । यी परिपेक्ष्यमा पुँजी बजारका लागि आगामी दिनहरु सुखद् रहने सक्ने अनुमान विश्लेषकहरुको रहेको छ । 

 
यस दिन २१३ कम्पनीको ६४ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । १५ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र हिमालयन डिष्टिलरी परेका छन् । 



Post Your Comment