Market Closed

विश्वका सबैभन्दा धनी किसान ‘चीन यिङ्लिन’, कसरी बनाउन सके १९.५ अर्ब डलर नेटवर्थ ?

02 Oct,2022
  • qin_farmer_10_2_2022_7_44_10.jpg
नेपाली पैसा
 
काठमाडौं : सन् १९६५ मा जन्मेका चिनियाँ नागरिक ‘चीन यिङ्लिन’ विश्वका सबैभन्दा धनी किसानका रुपमा प्रशिद्ध छन् । कृषि टाइकुन चीन, चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य पनि हुन् । उनी सुँगुर तथा बंगुर पालन सम्बन्धी कम्पनी ‘मुयुआन फुडस्टफ’ का अध्यक्ष हुन र चीनका सबैभन्दा धनी व्यक्तिहरुमध्ये एकमा पनि पर्दछन् । ब्लुमबर्गको अर्बपतिहरुको सूचीमा चीन गत शुक्रबार (असोज १४ गते) सम्म ६४औं स्थानमा छन् भने उनको नेटवर्थ १९.५ अर्ब अमेरिकी डलर रहेको छ । फोब्र्सका अनुसार उनले आफ्नो सम्पति विश्वको सबैभन्दा ठूलो बंगुर बजार (चीन) मा देशको सबैभन्दा ठूलो बंगुर किसानको रुपमा निर्माण गरेका हुन् ।
 
चीनको हेनान प्रान्तको निसियाङ काउन्टीस्थित एक गाउँमा ‘चीन यिङ्लिन’ को जन्म भएको थियो । यिङलिनको बाल्यकाल गरिबीमै बितेको थियो । सन् १९८२ मा विद्यालयको माध्यमिक तहमा अध्ययन गर्दा चीनका पिताले पैसा बचत गरी २० वटा बंगुर किनेका थिए । तर एउटाबाहेक सबै बंगुर मरेपछि चीनलाई बंगुर पालन सम्बन्धी अध्ययन गर्नका लागि उत्प्रेरणा मिल्यो । सन् १९८५ मा उनी हेनान कृषि विश्वविद्यालयमा भर्ना भए ।
 
व्यावसायिक यात्रा
 
चीनले २४ वर्षको उमेरमा सन् १९८९ मा पशुपालनमा डिग्री हासिल गरे र ‘नानयाङ फुड कम्पनी’ मा काम गर्न थाले । उक्त कम्पनीमा सँगै काम गर्ने कियान यिङसँग चीनको विवाह भयो । कियानले पशु स्वास्थ विज्ञान अध्ययन गरेकी थिइन् । नानयाङमा ३ वर्ष काम गरेपछि दुवै चीनको गाउँ फर्किए र बंगुर पालनमा प्रवेश गरे । 
 
चीन र कियानले बंगुर पालनको व्यवसाय जम्मा २२ वटा बंगुरबाट सुरु गरेका थिए । यद्दपि, उनीहरुको व्यवसाय द्रुत गतिमा अगाडि बढ्यो । सन् १९९४ सम्म उनीहरुसँग २ हजार बंगुरहरु भइसकेका थिए भने सन् १९९७ सम्म आइपुग्दा बंगुरहरुको संख्या १० हजार पुगेको थियो ।

सन् २००० मा चीनले ‘मुयुआन फार्मिङ’ नामको कम्पनी स्थापना गरे, जुन कम्पनी अन्ततः ‘मुयुआन फुडस्टफ’ बन्यो । सन् २०१० मा चीनको कम्पनीले ‘इन्टरनेसनल फाइनान्स कर्पोरेसन’ बाट ऋण तथा लगानी पनि प्राप्त गर्यो । सन् २०१३ सम्म आइपुग्दा ‘मुयुआन फुडस्टफ’ को पूर्ण स्वामित्वका दुई सहायक कम्पनी र एक पाटर्नर कम्पनी खडा भइसकेका थिए भने मासुका लागि प्रतिवर्ष १० लाख बंगुरहरु उत्पादन गरिरहेको थियो ।

सन् २०१४ को जनवरी २४ देखि सेन्चेन स्टक एक्सचेन्जमा सूचीकृत भई ‘मुयुआन फुडस्टफ’ को सेयर कारोबार पनि सुरु भयो । सन् २०१९ को ‘अफ्रिकी स्वाइन फ्लू’ र सन् २०२० मा कोरोना महामारीको प्रकोपका बेला मुयुआनको सेयर भाउमा उल्लेख्य वृद्धि भएको थियो । प्रतिस्पर्धीहरुको तुलनामा राम्रो सुविधा र आफ्नै संरचनाहरु भएका कारण फ्लूको रोकथाममा कम्पनीले प्रभावकारी काम गर्न सक्यो ।

जसका कारण प्रकोपका बेला पनि मुयुआनको व्यापार फस्टाएको थियो । ‘मुयुआन फुडस्टफ’ चीनको सबैभन्दा ठूलो बंगुर उत्पादक कम्पनी हो । एक तथ्यांक अनुसार यस कम्पनीले एक वर्षमा ६० लाख बंगुरहरु मासुका लागि बध गर्ने गरेको छ । 

 
सम्पति 
 
ब्लुमबर्गका अनुसार हाल चीन यिङ्लिनको नेटवर्थ १९.५ अर्ब अमेरिकी डलर रहेको छ । जसले उनलाई विश्वको सबैभन्दा धनी किसान बनाएको छ । ‘मुयुआन फुडस्टफ’ मा उनको ८८ करोड ३० लाख कित्ता सेयर रहेको छ । जुन कम्पनीको ४०.०६% हिस्सा हो । उनकी पत्नी कियान पनि अर्बपति नै हुन् । ‘मुयुआन फुडस्टफ’ मा अधिकांश स्वामित्व यी दुवैको रहेको छ ।
 

Post Your Comment