Market Closed

पुँजी बजारमा सामान्य गिरावट, ब्याजदर धेरै हुँदा पनि कस्तो बेला बजार बढ्न सक्छ ?

30 Nov,2022
  • bull-and-beads_11_30_2022_3_18_58.jpg
नेपाली पैसा 
 
काठमाडौं : पुँजी बजारमा बुधबार सामान्य गिरावट आएको छ । सूचक सुस्त हुँदा कारोबार रकम पनि सामान्य प्रभावित भएको छ । यस दिन सूचक ३.५१ अंकले घटेर १९४९.८५ विन्दुमा अडिएको छ । ८४ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  बजार केही समययता १९ सयकै लाइनमा फन्फनी घुमिरहेको छ । लामो समय वियरिस यात्रामा रहेको बजार अब धेरै तल झर्न पनि सकिरहेको छैन भने अपेक्षा अनुसार मााथि जान पनि सकेको छैन । 
 
बजार तलमाथि गर्नु वा साइडवेजमा रहनुमा नीतिगत व्यवस्थाका साथमा लगानीकर्ताको मनोविज्ञानले ठूलो भूमिका खेलेको हुन्छ । साथमा मुलुकको अर्थतन्त्र, ब्याजदर र तरलताको पनि उत्तिकै भूमिका रहने गर्छ । तरलता अभाव र चर्को ब्याजदर रहँदारहँदै पनि कपितय मुलुकमा अहिले पनि पुँजी बजार सूचकले अल टाइम हाई रेकर्ड बनाइरहेको देख्न सकिन्छ । छिमेकी भारतकै सेयर बजारले दिनहुँजसो नयाँ रेकर्ड बनाइरहेको छ । 
 
तर त्यहाँ पनि ब्याजदर उच्च छ भने तरलता संकट पनि उत्तिकै छ । यस्तो अवस्थामा पनि बजार माथि जान सक्नु भनेको सरकार तथा केन्द्रीय बैंकको बजारमैत्री नीति नै हो । तर हामीकहाँ भने त्यसअनुसारको नीतिगत व्यवस्था हुन सकेको छैन । जसका कारण लामो समयदेखि बजार वियरिस यात्रामै रहेको छ । 
 
तर पछिल्ला दिनहरुमा हामीकहाँ पनि केन्द्रीय बैंक विस्तारै कर्जा प्रवाह बढाउने र ब्याजदर घटाउनेतिर केन्द्रित हुन थालेको छ । मौद्रिक नीति समीक्षाले पनि ब्याजदर बढ्न नदिने भनेको छ । यता, बैंकहरुले चर्को ब्याजदरका कारण कर्जा प्रवाह गर्न सकेका छैन । यसर्थ, अब उनीहरुले पनि ब्याजदर घटाउनैपर्ने बाध्यता छ । 
 
तर लगानीकर्ताले भने रिक्स–रिवार्ड रेसियोलाई ख्याल गर्दै लगानीसम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । बजारले वियरिस यात्रा हिँडेको पनि १५ महिना पूरा भइसकेको छ । बजार भाउ सस्तो भइसकेको छ । तर अझै पनि आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक हुन सकेको छैन । समग्रमा बजार तलमाथि गरिरहन्छ । घटेको बजार फेरि माथि लाग्छ भन्ने आत्मविश्वास हुन आवश्यक छ । 
 
यस दिन २३८ कम्पनीको २३ लाख ५५ हजार कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा ४ करोड ७९ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र नेष्ठो समृद्ध लघुवित्त रहेका छन् ।


Post Your Comment