Market Closed

१६ महिना बियरिस बाटोमा हिँडेको सेयर बजारले अब चक्र परिवर्तन गर्न लागेको हो त ?

03 Dec,2022
  • bull_nbears_12_3_2022_10_14_03.jpg
नेपाली पैसा
 
काठमाडौं : यस साता समग्रमा पुँजी बजार सकारात्मक देखिएको छ । लामो समयदेखि नेप्से सूचक १९ सयको लाइनमै तलमाथि गरिरहेको छ । घटेर १८ सयको लाइनमा आउन पनि सकेको छैन भने त्यसमाथि २ हजारको लाइनतिर जान पनि सकेको छैन । यसआधारमा लामो समयदेखि बजार साइडवेजमा रहेको विश्लेषण गर्न सकिन्छ । यो साता सकारात्मक बनेर बन्द भएको बजार अब आइबार खुल्दा कता जाला अनि समग्रमा बजारको गति कस्तो होला भन्ने यतिबेला आम चासो र कौतुहलता रहेको अवस्था छ ।

सेयर बजार तलमाथि गरिरहन्छ, यो बजारको सामान्य विशेषता नै हो । तर औसतमा बजारको गति र प्रवृत्ति कस्तो होला ? १६ महिना बियरिस बनेको बजारले अब विस्तारै बुलिस मोमेन्टम समाउन खोजेको हो त ? भन्ने जिज्ञासा पनि बढ्न थालेको छ । तर समग्रमा हेर्दा पछिल्ला दिनहरु पुँजी बजारका लागि सकारात्मक बन्दै गएका छन् । किन भने अर्थतन्त्रका सूचकहरु विस्तारै सुधारको लयमा फर्किएको छ । 
 
अर्थतन्त्रको बागडोर सम्हालेका व्यक्तिहरुले पनि अब मुलुकको अर्थतन्त्र सही ट्रयाकमा जान लागेको अभिव्यक्ति दिन थालेका छन् । यसैक्रममा गत बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा तथा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकै स्वरमा अर्थतन्त्र सकारात्मक गतिमा अघि बढेको बताएका थिएका थिए ।
 
अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्रमा संकट छ भन्ने नबुझ्ने मानिसले मात्र हो भनेर स्पष्टरुपमा अर्थतन्त्र सकारात्मक बाटोमा लागेको दाबी गरे । यस्तै, केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि नेपालको अर्थतन्त्र अब संकटबाट बाहिर आएको बताए । केही चुनौतीहरु बाँकी रहे पनि समग्र अर्थतन्त्रमा सुधार भएको छ, संकटको अवस्था छैन, उनले भने । 
 
अर्थतन्त्रको बागडोर सम्हालेकाहरुले सकारात्मक भाषण गरेपछि पुँजी बजारका लगानीकर्ताहरुको मनोविज्ञानमा पनि सकारात्मक प्रभाव पर्दै जाने अनुमान गरिएको छ । पुँजी बजारमा लगानीकर्ताको मनोविज्ञानले सकारात्मक प्रभाव पार्छ । नीतिनिर्माण तहमा बसेका व्यक्तिहरुको बोलीले पनि उत्तिकै प्रभाव पार्ने गरेको पाइन्छ । त्यसो त पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन बढिरहेको छ ।
 
तर, त्यस अनुपातमा कर्जा प्रवाह हुन सकेको छैन । यही कारण आगामी दिनहरुमा बैंकहरुले ब्याजदर घटाउँदै जानुपर्ने बाध्यता छ । ब्याजदर घट्ने र तरलता बढ्ने अवस्थामा पुँजी बजारमा सुधार आउने गर्दछ । यसकारण अहिले विस्तारै सेयरहरु एकुमुलेसन भइरहेको अनुमान गरिएको छ । त्यसो त केन्द्रीय बैंकले पनि अब ब्याजदर बढ्न नदिने तथा क्रमशः घटाउँदै लैजाने नीति लिएको छ । यसबाट पनि ब्याजदर अब स्याचुरेटेड अवस्थामा पुगेको विश्लेषण गर्न सकिन्छ । 
 
समग्रमा आगामी दिनहरु सकारात्मक हुने देखिए पनि सेयर बजारको बाटो भने सधैं एकनासको हुँदैन । बजार तलमाथि भइरहन्छ । यसको बाटो सीधा नभएर बाँङोटिंगो हुने गर्छ । यसर्थ, लगानीकर्ताले सोही अनुसार आफ्ना रणनीतिहरु तय गर्न विज्ञहरुले सुझाव दिने गरेका छन् । यतिबेला लाभांशको सिजन चलिरहेको छ । धेरै कम्पनीहरुको अझै लाभांश घोषणा र बुक क्लोज हुन पनि बाँकी छ ।
 
यस्तो रह्यो साताको सेयर बजार

 
यस साता नेप्से सूचक १.२५% ले बढेर १९६१.५ विन्दुमा बन्द भएको छ । गत साता भने नेप्से सूचक १९३६.८४ विन्दुमा बन्द भएको थियो । बिहीबार १ अर्ब ३२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २८ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । 
 
दैनिक कारोबार रकम

 
आइतबार साताकै उच्च २ अर्ब २ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो भने बुधबार साताकै न्यून ९४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । यस साता औसतमा दैनिक १ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
 
सूचीकृत समूहहरुको प्रदर्शन


 
यस सता म्युचुअल फन्ड समूहको सूचक बाहेक बाँकी सबै सूचकमा हरियाली छाएको छ । म्युचुअल फन्ड भने ०.८१% ले घटेको छ । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.५७% ले बढेको छ । त्यसपछि, ट्रेडिङ समूह २.६०% र जीवन बिमा समूह १.८१% ले बढेका छन् । 
 
धेरै कमाउने

 
यस साता श्वेत गंगा हाइड्रोपावरको भाउ सबैभन्दा धेरै २०.१४% ले बढेको छ । त्यसपछि, डिप्रोक्स लघुवित्त १३.१०% र कर्णली विकास बैंक ९.९२% ले बढेका छन् । 
 
धेरै गुमाउने


 
वीन नेपाल लघुवित्तको भाउमा साताकै उच्च ८.४७% गिरावट आएको छ । त्यसपछि, घलेम्दी हाइड्रोपावरको भाउ ५.४८% ले घटेको छ । तेस्रोमा सयपत्री हाइड्रोपावर ५.४१% ले घटेको छ । 
 

Post Your Comment