निराजन सापकोटा
काठमाडौं : सेयर बजारमा प्रवेश गरेका प्रायः नयाँ तथा पुराना अनुभवी ट्रेडरहरुलाई पनि सजिलै झुक्याउने भनेको ‘फल्स ब्रेकआउट’ ले हो । ब्रेकआउट स्ट्राटेजी ट्रेडिङ गर्दा धेरैले अपनाउने एउटा टुल हो । जब कुनै कम्पनीको सेयर धेरै समय सपोर्ट र रेजिस्टेन्स एरियाको बीचमा रहन्छ तब ट्रेडरहरुले त्यो एरियामा ब्रेक आउट कुरेर बसेका हुन्छन् । ट्रेडरले सपोर्ट (पछिल्लो न्यूनतम विन्दु) र रेजिस्टेन्स (पछिल्लो अघिकतम विन्दु) लाइनलाई ब्रेक गर्ने समय पर्खेर बसेका हुन्छन् ।
जब सेयरले रेजिस्टेन्स लाइन ब्रेक गर्छ तब ट्रेडरहरुले मूल्य अझै बढ्छ भनेर खरिद अर्डर राख्छन् । साथै, सपोर्ट लाइनलाई ब्रेक गर्नासाथ बिक्री अर्डर राख्छन् । तर फल्स ब्रेकआउट भनेको सेयरले रेजिस्टेन्स वा सपोर्ट लाइनलाई क्रस गरेपनि केही समयमा पुनः सोही दिशातिर जानुलाई मानिन्छ । यसले ट्रेडरहरुलाई थुप्रै घाटा हुन पुग्छ ।
प्रायः यस्तै प्याट्रनमा ट्रेडरहरु ब्रेकआउट पर्खेर बसेका हुन्छ । यदि माथिल्लो रेजिस्टेन्स एरिया ब्रेक गर्छ भने उनीहरुले खरिद अर्डर राख्छन् । सपोर्ट एरिया ब्रेक गर्यो भने बिक्री वा सर्ट सेलिङ गर्छन् ।
माथिको चित्रमा एउटा ब्रेकआउट प्याट्रन बनेको छ । जब सेयरले रेजिस्टेन्स लाइनलाई ब्रेक गरेर माथि जान्छ तब ट्रेडरहरुले यसको भाउ अझै माथि जान्छ भनेर खरिद गर्छन् । तर व्यवहारमा ठीक विपरीत यसको सेयर मूल्य झनै तल झर्छ । यसैलाई फल्स ब्रेकआउट भनिन्छ ।

कुनै कुरालाई सच्चिकै ब्रेकआउट मान्नको लागि त्यो गतिले निरन्तरता दिनुपर्छ । सेयर, क्रिप्टोकरेन्सी वा कमोडिटी मार्केट लगायतमा कारोबार गर्दा भाउ केही समयपछि पुनः सोही दिशातिर बढ्छ जहाँबाट आएको थियो त्यसलाई फल्स ब्रेकआउट भनिन्छ । फल्स ब्रेकआउट पहिचान गर्ने सबैभन्दा सरल तरिका भनेको यो कति लामो समयसम्म रहन्छ भनेर नोट बनाउनु हो । फल्स ब्रेकहरु क्षणिक हुने हुनाले केही समयका लागि हेर्नु जरुरी हुन्छ । ब्रेकआउट वास्तविक हो वा होइन भनेर बताउनका लागि प्रभावकारी तरिका यही हो ।
त्यसैगरी, आफूले बजारबारे राम्रोसँग अध्ययन गर्न आवश्यक छ । किनकी सबै फल्स ब्रेकआउटहरु समयसँगै सही ब्रेकआउट बन्न सक्छन्, त्यसका लागि तयार भएर बस्नु पर्छ । यता, फल्स ब्रेकआउट पहिचान गर्न अर्को महत्वपूर्ण कदम भनेको प्राविधिक विश्लेषण हो । ब्रेकआउट र फल्स ब्रेकआउटबीच भिन्नता पत्ता लगाउने प्रयास गर्दा यसले मुख्य अन्तरदृष्टि प्रदान गर्दछ ।
फल्स ब्रेकबाट बच्ने केही तरिकाहरुः
केही समय पर्खनुहोस्
वास्तविक ब्रेकआउट हो कि भनेर पुष्टि गर्न केही दिन पर्खनुपर्छ । वास्तविक ब्रेकआउट हो भने यसले ट्रेडरलाई पैसा गुमाउनबाट जोगाउँछ । फल्स ब्रेकआउटबाट बच्ने सरल तरिका भनेको ट्रेडर र लगानीकर्ताले केही दिन पर्खिनु नै हो । सेयरले ब्रेकआउट दिने बित्तिकै केही दिन पर्खिन आवश्यक पनि छ ।
यसो गर्नका लागि कतिपयले ३% नियम प्रयोग गर्छन् । जसको अर्थ ब्रेकआउट पुष्टि गर्नको लागि मूल्य ३% ले प्रतिरोधस्तर माथि बढ्न आवश्यक छ । यदि सानो मूल्य टाइमफ्रेम चार्टलाई ब्रेक गर्छ । तर लामो समय सीमाको चार्टमा देखिँदैन भने यसलाई फल्स ब्रेकआउट भन्न सकिन्छ ।
क्यान्डल स्टिक हेर्नुहोस्
जब ब्रेकआउट भइरहेको छ र तपाईंलाई शंका हुन्छ भने क्यान्डल स्टिकले ब्रेक दिएको भन्दा केही माथि बन्द नभएसम्म पर्खनुहोस् । ब्रेकआउट जति बलियो देखिन्छ त्यति नै यो फल्स ब्रेक नहुने सम्भावना हुन्छ ।
नआत्तिनु
ब्रेकआउट पुष्टि गर्न धेरै घण्टा वा दिनसम्म पर्खिनु सुरुमा चुनौतीपूर्ण हुन सक्छ । अधिकांश ट्रेडरहरुले सस्तो मूल्यको सेयर हातबाट फुत्किने भयो भनेर ट्रेड लिने गर्छन् । यदि यो डर फैलिएको महसुस कसैलाई हुन्छ भने ब्रेकआउट सेटअपमा प्रवेश गर्ने धेरै अवसरहरु पनि हुन्छन् । वास्तवमा बजारले प्रायः ब्रेक पछि पुरानो समर्थन वा प्रतिरोधलाई पुनः परीक्षण गर्नेछ । त्यो बेला तपाईंलाई बजारमा प्रवेश गर्ने ठूलो अवसर प्रदान हुन्छ ।