Market Closed

लगानी बोर्डमा सूचीकृत आयोजनामा प्रधानमन्त्रीले देखाए चासो

19 Mar,2023
  • IMG_5181_3_19_2023_7_59_13.jpg
नेपाली पैसा

काठमाडौं : प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी बोर्डमा सूचीकृत आयोजनामा चासो देखाएका छन् । प्रधानमन्त्रीले  लगानी बोर्डबाट सहजीकरण भइरहेका सार्वजनिक निजी साझेदारी  तथा निजी लगानीका परियोजनाहरुको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएको बोर्डले जनाएको छ । साथै उक्त बोर्डमै पुगेर प्रधानमन्त्रीले परियोजनाका विकासकर्ताहरुसँग समेत भेटघाट र अन्तक्र्रिया समेत गरेका छन् ।  

बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरुप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए । छलफलमा अरुण तेस्रो तथा तल्लो अरुण जलविद्युत् परियोजना, होङ्सी तथा हुवासिन सिमेन्ट नारायणी परियोजनाको कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, माथिल्लो कर्णाली जलविद्युत परियोजना, माथिल्लो मर्स्यांग्दी -२ अर्धजलाशययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त र सेती नदी-६ अर्ध-जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजना डाबर नेपाल, चीन-नेपाल मैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केवलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए । 

प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई आश्वस्त हुन र लगानी बोर्डको भावी कार्यसम्पादनका सम्बन्धमा कार्यालयलाई विशेष निर्देशन दिए ।
 

Post Your Comment