नेपाली पैसा
काठमाडौं : स्वीट्जरल्यान्डको दोस्रो ठूलो बैंक ‘क्रेडिट सुइस ग्रुप एजी’ संकट नजिक पुगेपछि त्यहाँको केन्द्रीय बैंकले बिहीबार ५४ अर्ब अमेरिकी डलर आपतकालीन ऋण दिएको छ । यस बैंकको सेयर र बन्डको भ्याल्यूमा आएको भारी गिरावटले विश्वव्यापी बैंकिङ संकटको डरलाई तीव्र बनाएपछि तरलता मजबुत बनाउन र लगानीकर्ताको आत्मविश्वास फर्काउन केन्द्रीय बैंकले उक्त ‘लाइफलाइन’ प्रदान गरेको हो ।
यद्दपि, केन्द्रीय बैंकले प्रदान गरेको सहायता पनि अपर्याप्त हुने विश्लेषकहरुले बताउँदै आएका छन् । यसले बैंकको पुनर्संरचनाका लागि केही समय थपिदिए पनि संकट समाधान नगर्ने विश्लेषण गरिएको छ । क्रेडिट सुइसका प्रमुख वित्तीय अधिकृत दीक्षित जोशी र उनको टोलीले बैंकको लागि रणनीतिक परिदृश्यहरूको मूल्यांकन गर्न विभिन्न बैठकहरु पनि गरिरहेका छन् । यसैबीच, क्रेडिट सुइसलाई स्वीट्जरल्यान्डको सबैभन्दा ठूलो बैंक ‘युबीएस ग्रुप एजी’ ले खरिद गर्ने चर्चा पनि चलिरहेको छ ।
पछिल्लो समय सेयर भाउमा भारी गिरावट ल्याउने घटनाहरु के–के हुन् ?
वर्षौंदेखिका विभिन्न घोटालाहरु, शीर्ष व्यवस्थापनमा परिवर्तन, अरबौं डलरको घाटा र खराब रणनीतिका कारण १६७ वर्ष पुरानो क्रेडि सुइस अहिलेको अवस्थामा पुगेको हो । क्रेडिट सुइसको सेयर सन् २००७ देखि नै बियरिस गतिमा रहेको छ । यद्दपि, इन्भेष्टमेन्ट फन्ड ‘आर्केगोस र ग्रिनसिल क्यापिटल’ को पतनसँग सम्बन्धित घाटाहरुका कारण सन् २०२१ देखि यसको सेयरमा ‘सेल अफ’ सुरु भएको थियो । जनवरी सन् २०२२ मा, एन्टोनियो होर्टा–ओसोरियोले कोभिड नियमहरुको उल्लंघन गरेको आरोपमा अध्यक्ष पदबाट राजीनामा दिए ।
बैंकको अवस्था ठीक गर्न नियुक्त भएको ८ महिनामै होर्टाले राजीनामा दिएका थिए । जुलाईमा, नयाँ प्रमुख कार्यकारी अधिकृत र पुनर्संरचना विशेषज्ञ उलरिच कोर्नरले रणनीतिक समीक्षा सार्वजनिक गरेपनि लगानीकर्ताहरुको मन जित्न असफल भए । सेप्टेम्बरयता, बैंक असफल हुने अवस्थामा रहेको भन्ने अफवाहरु फैलिन थालेपछि ग्राहकहरु पलायन हुने क्रम तीब्र गतिमा बढ्न थालेको थियो ।
क्रेडिट सुइसले चौथो त्रैमासमा ग्राहकहरूले १ खर्ब १९ अर्ब डलर निक्षेप झिकेको पुष्टि गर्दै सन् २००८ को वित्तीय संकटपछिको सबैभन्दा धेरै ७.२९ अर्ब स्वीस फ्र्यांक वार्षिक घाटा भोगेको रिपोर्ट सार्वजनिक गरेको थियो । यी सबै कारणहरुले बैंकको सेयर भाउमा निरन्तर गिरावट ल्याएको हो । पछिल्लो १२ महिनाको अवधिमा क्रेडिट सुइसको सेयर भाउमा ७५% भन्दा बढी गिरावट आएको छ ।
क्रेडिट सुइस कत्तिको महत्त्वपूर्ण छ ?
क्रेडिट सुइस विश्वको सबैभन्दा ठूलो सम्पति व्यवस्थापकमध्ये एक हो । यो प्रणालीगत रुपमा महत्त्वपूर्ण मानिएका विश्वभरका ३० बैंकहरु मध्येको एक पनि हो । तसर्थ, क्रेडिट सुइसको असफलताले सम्पूर्ण वित्तीय प्रणालीमा नै तरंग निम्त्याउने पक्का छ । क्रेडिट सुइसले स्थानीय स्वीस बैंक, सम्पति व्यवस्थापन र इन्भेष्टमेन्ट बैंकिङ सञ्चालन गरिरहेको छ । सन् २०२२ को अन्त्यसम्मको तथ्यांक अनुसार बैंकसँग ५० हजार भन्दा बढी कर्मचारीहरु छन् भने यसको व्यवस्थापनमा १३ खर्ब स्वीस फ्र्यांक भन्दा बढीको सम्पति रहेको छ ।
अघिल्लो वर्ष भने १६ खर्ब स्वीस फ्र्यांकको सम्पति व्यवस्थापनमा रहेको थियो । लगभग ५० वटा देशहरूमा १५० भन्दा बढी कार्यालयहरू भएको क्रेडिट सुइस ठूलो संख्यामा उद्यमीहरु, धनी र अति धनी व्यक्तिहरु र कम्पनीहरुका लागि बैंकिङ सेवा प्रदान गर्दै आएको निजी क्षेत्रको बैंक हो ।
- एजेन्सीको सहयोगमा